भूकम्पपीडितको व्यवस्थापनको जिम्मा केन्द्र र पालिकाले लिँदा प्रदेशको भागमा अनुगमन मात्रै
सुर्खेत ।
कात्तिक १७ गते राती जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भएको क्षति पुर्ननिर्माणमा केन्द्र र पालिकाले जिम्मेवारी लिएका छन् भने प्रदेशलाई अनुगमनको जिम्मा दिइएको छ ।
सबैभन्दा नजिकको सरकार पालिका भएको र त्यसपछिको सरकार प्रदेश भएपनि संघले पुर्ननिर्माणमा आफैंले स्वामित्व लिने निर्णय गरेसँगै संघीय सरकार संघीयता कार्यान्वयनमा कत्तिको जिम्मेवार बनेको छ भन्ने कुराको पुष्टि भएको हो ।
राहत, उद्वार र अस्थायी आवस निर्माणका लागि प्रदेश सरकारले विभिन्न तयारी गरिरहेको समयमा संघीय सरकारले प्रदेश सरकारलाई भूकम्प पीडितहरुको अस्थायी संरचना निर्माण गर्ने सवालमा अनुगमनको मात्रै जिम्मेवारी प्रदान गरेको हो ।
यद्यपी राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० अनुसार प्रदेश सरकारले चाहेको खण्डमा भने दोहोरो नपर्ने गरी आवास निर्माण गर्न सक्ने व्यवस्था भने गरेको छ ।
कार्यविधीको दश नम्बर बुँदाको एकमा दाहोरो नपर्ने गरि संरचना निर्माण गर्न सक्ने उल्लेख छ भने सोही बुँदाको दुई नम्बरमा अस्थायी आवास निर्माण प्रक्रियाको संघीय सरकार, संघीय निकाय र स्थानीय तहको समन्वयमा अनुगमन गर्ने व्यवस्था गरिएको छ ।
विभिन्न १३ ओटा बुँदा रहेको उक्त कार्यविधीमा प्रदेश सरकारलाई एक बुँदामा सीमित पारिएको छ भने अन्यत्र कहि कतै प्रदेश सरकारको भूमिका स्पष्ट पारिएको छैन ।
यसरी, कर्णाली प्रदेश सरकारले भूकपको समयमा रुकुम पश्चिम र जाजरकोटका जनतालाई राहत तथा उद्धारमा खेलेको भूमिकाको समेत अवमूल्यन गरेको महसुस भएको एक मन्त्रीले बताए ।
‘खासमा हुनुपर्ने स्थानीय तह र प्रदेश सरकारले संरचना निर्माण गर्ने र त्यसको अनुगमन गर्ने कार्य संघीय सरकारले गर्नुपर्ने थियो । यसको एउटामात्रै कारण के हो भने दुवै सरकार जनताको नजिकका सरकार नै हुन ।’ नाम उल्लेख नगर्ने शर्तमा ती मन्त्रीले पहिलोप्रेससँग भने, ‘उक्त कार्यविधीले प्रदेश सरकारलाई वेवास्ता गरेको र हेपेको छ । प्रस्ट भन्नुपर्दा केन्द्रले संघीयतालाई कार्यान्वयन नै गर्न चाहेको छैन ।’
तपाईँहरु भूमिका विहीन हुनु भएको हो भन्ने प्रश्नमा मुख्यमन्त्री राजकुमार शर्माले भने तत्काल कुने प्रतिक्रिया नदिने जनाए ।
‘हेरौं, कसरी अगाडी बढछ संरचना निर्माणको प्रक्रिया ?’ छोटो कुरा गर्दै उनले भने, ‘काठमाडौंबाट फर्केपछि प्रतिक्रिया दिउँला ।’
पहिलोप्रेस
५ मंसिर २०८०, मंगलवार ०९:४६