कोरोना भन्दा कर्णालीमा डरलाग्दो बन्दै आत्महत्या, यो वर्ष मात्रै सवा तीन सयले फाले ज्यान
सुर्खेत ।
कर्णाली प्रदेशका अधिकांश नागरिक ज्याला मजदुरीका लागि भारतजाने गर्दछन् । पछिल्लो समयमा भारतमापनि कोरोनाका कारण रोजगारी घटनु र कर्णालीमा रोजगारीका अवसर सिर्जना नहुनुले बेरोजगारी बढाउँदा पारिवारिक तनाव भएर कर्णालीमा आत्महत्या बढिरहेको प्रहरीको भनाई छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी अर्जुन चन्दका अनुसार चालु आर्थिक वर्षमा मात्रै कर्णालीमा ३३७ जनाले आत्महत्या गरेर ज्यान फालेका छन् । ती मध्ये पनि झुण्डिएर आत्महत्या गर्नेको संख्या उल्लेख्य रहेको छ । कर्णालीमा यो वर्ष झुण्डिएर ज्यान फाल्नेको संख्या २५९ रहेको छ ।
विष खाएर ७० जनाले आत्महत्या गर्दा हाम फालेर सात जनाले ज्यान गुमाएका छन भने हतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । दुइ वर्षमा कोरोनाबाट कर्णालीमा जम्मा ३४० जनाको ज्यान गएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ तर आत्महत्याको दुइ वर्षको विवरण हेर्दा भने अवस्था डरलाग्दो देखिएको छ ।
आत्महत्या गर्नेहरुको संख्या सबैभन्दा ठूलो सुर्खेतमा रहेको प्रदेश प्रहरी कार्यालय जनाउँछ । कार्यालयका अनुसार सुर्खेतमा यो आर्थिक वर्षमा १२० जनाले आत्महत्या गरेका छन भने दोश्रोमा सल्यानमा ६८ जनाले आत्महत्या गरेका छन् । दैलेखमा ५४ जना, जाजरकोटमा २६ जना, रुकुम पशिचममा ३१ जना, जुम्लामा १४ जना हुम्लामा तीन जना, मुगुमा पाँच जना र कालिकोटमा १६ जनाले आत्महत्या गरेका छन् ।
कर्णालीमा आर्थिक वर्ष २०७४÷०७५ मा २५५ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७५÷०७६ मा २५० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा २८६ जनाले आत्महत्या गरेका थिए ।
मानसिक रोग परामर्शकर्तामा कर्णालीका डाक्टर सुशिल समदर्शी कोरोनका कारण पनि आत्महत्या बढाएको बताउँछन् । ‘कोभिड संक्रमणको डर बढि भयो । यसकारण नागरिक घरभित्रै बस्न बाध्य भए । घरमा लामो समय बस्दा आर्थिक अभाव भयो अनि त्यसले उनीहरुमा उदासीपना छायो पहिलेको जस्तो सामाजिक सम्वन्ध पनि उनीहरुले कायम गर्न सकेनन् । सोही कारण उनीहरुले आत्महत्याको बाटो रोजे ।’ उनी भन्छन्, ‘कर्णालीमा मनोरोग परामर्शकर्ता डाक्टर दुइ जना मात्र छौं । हामीले हेर्दा उदासीपनको समस्या भएका ८० प्रतिशतले आत्महत्या गरेका छन भने बाँकी २० दीर्घरोगी भएको देखिएको छ ।’
उनले आत्महत्या क मगर्नका लागि जनचेतना अभिवृद्धि नै पहिलो आधारको रुपमा लिनुपर्नेमा जोड दिए । ‘आत्महत्या हुने प्रयासलाई निवारण गर्न पर्छ । जनचेतना फैलाउन पर्छ । उदासीपन भएकाहरुको समयमै उपचार गर्न सकिए समाधान गर्न सकिन्छ । अर्थात ७० प्रतिशत आत्महत्या क मगर्न सकिने हामीले देखेका छौं । त्यसकालागि नागरिकलाई परामर्श सेवा बढि दिनुपर्छ ।’ उनी भन्छन्, ‘सरकारले पनि आफ्ना भूमिका बढाउनुपर्छ । लागु पदार्थलाई कडाई गर्न, मदिरालाई सकेसम्म नियन्त्रण गर्ने, घरेलु हिंसामा परेकाहरुलाई तत्काल रेस्पोन्स दिने, बजारमा पाईने विषादीलाई दिने बेलामा कृषक बाहेक अन्यलाई नदिने नियम बनाई कार्यान्वयन गर्ने जस्ता काम गर्न आवश्यक छ ।’
पहिलोप्रेस
१ श्रावण २०७८, शुक्रबार १०:१४