Loading... आजः ४ पुष २०८१, बिहीबार

भूकम्प पीडितको विपद कोषमा विभिन्न निकायबाट साढे चार करोड जम्मा

कर्णालीका दशै जिल्लामा पठाईँदै पाँच करोड

सुर्खेत ।
कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण घरवार विहीन भएका नागरिकको पुर्नस्थापना, राहत तथा उद्धारका लागि कर्णाली प्रदेश सरकारले खोलेको प्रदेश विपद कोषमा प्रदेश सरकार बाहेक अन्य सरकार, सहयोगी निकायले चार करोड ५५ लाख भन्दा बढी रकम जम्मा गरेका छन् ।

मन्त्रालयको विपद व्यवस्थापन शाखा प्रमूख कृष्ण बहादुर रोकायाका अनुसार कोशी प्रदेशले एक करोड, लुम्विनि प्रदेशले एक करोड पचास लाख, एनसेलले पचास लाख रकम प्रदेश कोषमा जम्मा गरेका हुन ।

प्रदेश सरकारले नियमित बजेट अन्र्तगत कोषमा जम्मा गरेको चार करोड चार लाख १८ हजार बाहेक हालसम्म विभिन्न प्रदेश सरकार, नागरिक, संघसंस्थाले कोषमा चार करोड ५५ लाख ७६ हजार १५७ रुपैंया जम्मा गरेका छन् । उनले भने, पैसा खातामा जम्मा भएको भएपनि अन्य कुन निकायले कति सहयोग गरेका हुन खुल्न मुस्किल भएको छ ।

प्रदेश सरकार र सहयोग प्राप्त भएको रकम कूल ८ करोड ५९ लाख ९४ हजार १५७ रुपैंया रहेको उनको भनाई छ ।

‘हामीले यो कोषबाट नभई वित्तिय हस्तान्तरण अन्र्तगत साढे दुई करोड रुपैंया भूकम्प प्रभावित पालिकाहरुमा पठाइसकेका छौं ।’ उनले भने, ‘विचमा विदा भएको र मन्त्रालयका लेखा अधिकृत विदामा रहेका कारण जिल्ला प्रशासन कार्यालयहरुलाई पाँच करोड रकम दिने प्रक्रियामा थोरै ढिलाई भएको छ । एक दुई दिनमै भूकम्प प्रभावित तथा वाढी पहिरो पीडित कर्णालीका दश ओटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा हामी त्यो रकम हस्तान्तरण गर्नेछौं ।’

यता, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले प्रदेश भरि भूकम्पलगायत अन्य विपदमा परेका नागरिकलाई राहत स्वरुप मन्त्रालयले रकम उपलब्ध गराउने यसअघि नै गरेको निर्णय कार्यान्वयन गर्न लागिएको बताए ।

‘हामीले यसअघि नै वाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई राहत दिने भनेर निर्णय गरिसकेका छौं ।’ उनले भने, ‘त्यसकालागि कोषमा प्रदेश सरकारले चार करोड चार लाख १८ हजार जम्मा गरिसकेको छ । एक दुई दिनमै हामी पाँच करोड रुपैंया जिल्ला प्रशासन कार्यालयहरुमा पठाउँदैछौं ।’


सम्बन्धित समाचार