एक वर्षको अथक प्रयास पश्चात श्री एअरले सुर्खेत उडानको पायो अनुमति, आगामी साताबाट निरन्तर उडान
सुर्खेत ।
वुद्ध एअर भन्दा अघि नै परीक्षण उडान सुरु गरेको श्री एअरलाईन्सले काठमाडौं–सुर्खेत उडानको आज अनुमति पाएको छ ।
दुई वर्ष भन्दा पहिले सुरुमा सुर्खेत विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको श्री एअरलाईन्सले गत डेढ वर्ष अघिदेखि सुर्खेतमा उडान गरेको थिएन ।
आज एअरलाईन्सले ८० सिटे जहाज उडाउने अनुमति पाएसँगै सुर्खेत काठमाडौं जहाज चढन कर्णालीका नागरिकलाई सस्तो भाडा पर्ने सम्भावना बढेको हो ।
बुद्ध एअरले एक घण्टा पाँच मिनेट समयमा काठमाडौं सुर्खेत ७२ सिटे जहाजबाट उडान गर्दै आएपनि श्री एअरले भने बढीमा ५० मिनेटमा ८० सिटे जहाजबाट काठमाडौं सुर्खेत उडान अर्को साता देखि विहान सात बजे नियमित उडान गर्ने भएको हो ।
श्री एअरलाईन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले अब हप्ताको सातै दिन काठमाडौं सुर्खेत उडान सुरु हुने बताए ।
‘विहान सात बजे देखि सवा सात बजेको समयमा हाम्रो उडान काठमाडौंबाट हुन्छ । भाडादर तोक्नेबारेमा हामी सल्लाह गर्दैछौँ ।’ पहिलोप्रेससँग कुरा गर्दै उनले भने, ‘त्यसपछि मात्रै हामी कति भाडा लिने भन्ने सार्वजनिक गर्छौं । आगामी हप्ताबाट हामी नियमित उडान गर्ने भएका छौं ।’
श्री एअरलाईन्सले पछिल्लो एक वर्ष देखि काठमाडौं सुर्खेत उडानका लागि अनुमति पाउन निरन्तर प्रयास गरिरहेको थियो । पछिल्लो केहि समय पहिले सुर्खेतमा उडानको अनुमति पाइएको भन्दै सामाजिक सञ्जालमा हल्ला खल्ला मच्चाइएपनि अनुमति पाएको थिएन ।
पहिलोप्रेस
७ मंसिर २०८०, बिहीबार १९:११