खाद्यान्नजन्य पदार्थको आयात–निर्यात तथ्यांक संकलन गर्न नाकामा खटाइयो टोली
सुर्खेत ।
कर्णाली प्रदेश सरकार स्थापना भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । देशमा संघीयता आएसँगै कर्णाली प्रदेश सरकार सञ्चालनमा आएको भएपनि कर्णालीका नागरिकले उत्पादन के गर्छन ? कति गर्छन ? भन्ने आधिकारिक तथ्यांक संकलन गर्न नसकेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय भने यसपटक तथ्यांक संकलन गर्न भन्दै कस्सिएको छ ।
विहीबार मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरे, कृषि महाशाखा प्रमूख एवम मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतसहितको टोली प्रदेश भित्रिने दुई ओटा सीमानाकामा दुई दुई जना तथ्यांक संकलक कर्मचारी राख्ने व्यवस्था गर्न खटिएका थिए ।
‘हामीले हाललाई बबई नाका र कपुरकोट नाकामा दुई दुई जना कर्मचारी राख्ने योजना बनाएका थियौँ, साही अनुसार आज हामी त्यसको व्यवस्थापन गर्न जान लागेका हौं ।’ पहिलोप्रेससँग कुरा गर्दै उनले भने, ‘कर्णालीबाट के कति खाद्यान्न, पशुवस्तुको निर्यात हुन्छ र कर्णालीा के आयात हुन्छ भन्ने कुराको तथ्यांक संकलन गर्ने मुख्य योजना हो । त्यसो गर्दा कम्तिमा हामीलाई कृषि क्षेत्रमा के बढी आवश्यक पर्दोरहेछ भन्ने जानकारी हुनेछ ।’
यता, मन्त्री भिमप्रकाश शर्माले हालसम्म कर्णालीमा के सामाग्री आयात हुन्छ, कति हुन्छ भन्ने तथ्यांक नै नभएका कारण हाललाई दुई नाकाबाट तथ्यांक संकलन गर्ने योजना बनाइएको बताए ।
‘हेर्नुस न, कर्णालीमा उत्पादित खाद्य तथा पशुवस्तु कति आयात हुन्छ, कति निर्यात हुन्छ, कर्णालीलाई कति आवश्यक पर्छ भन्ने आधिकारिक तथ्यांक नै हामीसँग छैन ।’ उनी भन्छन, ‘अब कम्तिमा कर्णालीबाट के जान्छ, कर्णालीमा के आउँछ भन्ने विवरण हामीसँग यो व्यवस्था गरेसँगै उपलब्ध हुनेछ ।’
उनले यसरी हरेक महिना आउने खाद्य सामाग्री, तरकारी आदिको विवरण थाहा हुने र आयात प्रतिस्थापन गर्न सरकारले उक्त तथ्यांकको आधारमा नयाँ नीति बनाएर अघि बढने बताए ।
‘अब हामीले आत्मनिर्भर कर्णाली बनाउनु छ । त्यसकालागि आवश्यक तथ्यांक चाहियो, तथ्यांक भएपछि न त्यसकालागि आवश्यक नीति बनाउन र कार्यक्रम बनाउन सकिन्छ नि होइन र ?’ मन्त्री शर्माले भने, ‘विगतको भन्दा अब आयात प्रतिस्थापन गर्ने र उत्पादन बढाउने नीति कर्णाली सरकारले लिन्छ, त्यसतर्फ हामी योजना बनाउन लाग्छौं ।’
पहिलोप्रेस
८ मंसिर २०८०, शुक्रबार ०७:२१