प्रदेश अस्पतालमा उपचार गराई फर्किएका माओवादी नेता मल्ल भन्छनः अस्पतालका स्वास्थ्यकर्मीको व्यवहार प्रशंसा गर्न लायक
सुर्खेत ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य कालीबहादुर मल्ल प्रदेश अस्पताल कालागाउँमा उपचार गरि फर्किएका छन् ।
नेकपा माओवादीको जनवर्गीय संगठनका पूर्व प्रदेश इन्चार्ज, पार्टीका पूर्व प्रदेश इन्चार्जसमेत भइसकेका ६४ वर्षीय नेता मल्ल अत्याधिक सुगरका कारण खुट्टामा घाउ बढेको भन्दै प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मंसिर तीन गते आइतबार भर्ना भएका थिए ।
उनको प्रदेश अस्पताल कालागाउँमा डा. केएन पौडेलको टिमले उपचार गरेको थियो ।
‘म पार्टीको तीन महिने अभियानमा सहभागि भइरहेको थिएँ, जाजरकोटमा । गाई तिहारको दिनमा मेरो खुट्टामा सामान्य चोट लागेको थियो । उक्त चोट थप बढदै जाँदा खुट्टा सुनियो र धेरै दुख्न लागेको थियो ।’ जीवनमै पहिलोपल्ट अस्पतालमा आफ्नो उपचार गर्न गएका नेता मल्लले भने, ‘मेरो शरिरमा सुगर बढेर चार सय युनिट पुगेको रहेछ । त्यहि कारण मेरो खुट्टामा थप समस्या सिर्जना भएको रहेछ । पाँच दिनपछि हिजो साँझ मात्रै म कोठामा आएको छु । अब चौध दिनपछि फेरि अस्पतालमा चेकजाँचका लागि जानुपर्नेछ ।’
उनले प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरुको स्वभाव, संरचना, भौतिक पूर्वाधार र विशेषज्ञ डाक्टरहरुको सेवा प्रवाहबारे कुनैपनि नकारात्मक टिप्पणी नरहेको बताए ।
‘अस्पतालमा रहुन्जेलसम्म सबैले राम्रो हेरचाह गर्ने, नम्र स्वभावले प्रस्तुत हुने र उपचारमा कुनै कसर बाँकी रहन नदिने गरि स्वास्थ्यकर्मी परिचालन हुने गरेको मैले पाएँ । यसअघि प्रदेश अस्पताका बारेमा राम्रो कुरा सुनेको भएपनि यसपटक म आफैंले त्यो अनुभव लिएँ ।’ उनले भने, ‘विगतमा परिवारको चौरजहारी, कोहलपुरमा उपचार गर्न लैजाने गरिएको थियो । अब यहाँ नै धेरै विकास भइसकेको महसुस भएको छ ।’
अन्य नेताहरु सामान्य रोगको उपचार गर्न काठमाडौं जाने प्रचलन तोडेर तपाई यहाँ किन बस्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘मलाई धेरै साथीहरुले काठमाडौं जान सल्लाह दिएका थिए, तर बाहिर अधिकांश रोगको उपचार प्रदेश अस्पतालमा हुने सुनेका कारण म यहिँ बसेको हो । अब मलाई के लाग्छ भने, उपचारका लागि कर्णालीका कोही पनि नागरिकले काठमाडौं जानै पर्दैन । कुनै कुनै खास अवस्थामा बाहेक सबै रोगको उपचार यहिँ हुने भएका कारण आफ्नै राजधानीमा नै उपचार गर्नुपर्छ भन्ने लागेकोले म यहिँ भर्ना भएको हुँ ।’ उनले भने, ‘अब सबै नागरिकले प्रदश अस्पतालमै उपचार गर्नुपर्छ । बरु अस्पताला अपुग रहेका प्राविधिक सामाग्रीहरु ल्याऔं । अस्पतालको क्षमता विस्तार गरौं । त्यसो गरेको खण्डमा सुर्खेतलाई स्वास्थ्यको हव क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।’
नेता मल्लले आफ्नो उपचारमा खटिएका अस्पतालका सबै कर्मचारी, स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिए ।
पहिलोप्रेस
८ मंसिर २०८०, शुक्रबार ०९:३९