Loading... आजः ४ पुष २०८१, बिहीबार

एमाले महासचिवको एकलकाँटे निर्णय मान्न हामी बाध्य छैनौंः उपसचिव शाही

एमाले कर्णालीमा खेल्दै महासचिव शंकर पोखरेल

सुर्खेत ।
नेकपा एमाले कर्णालीमा फेरि असन्तुष्टि बढन थालेको छ । गत असोजमा भएको नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनबाट निर्वाचित भएका उपसचिव रमेश शाहीलाई बर्खास्त गरेर उपसचिवमै पराजित अनेमसंघ कर्णाली प्रदेश अध्यक्ष पदमा खड्कालाई जिम्मेवारी दिएपछि एमाले कर्णालीमा दुई धार प्रष्ट देखिएको हो ।

कर्णाली एमालेको एउटा समूहले पदमा खड्कालाई समावेशिताको नाममा उपसचिव बनाइएको भन्दै पार्टी नेतृत्वको प्रशंशा गरेको छ भने अर्को टीमले भने नेतृत्वको आलोचना गरेको छ ।

एमालेको केन्द्रीय सचिवालयको गत कात्तिक २२ गतेको बैठकले उक्त निर्णय गरेको पत्राचार महासचिव शंकर पोखरेलले आज (मंगलबार) प्रदेश कमिटीलाई जानकारी गराएका पछि एमाले कर्णालीमा तीव्र असन्तुष्टि देखिएको हो ।
प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीमा महिला आरक्षणको व्यवस्था एमालेले गरेको थिएन । महिला कोटा हुनुपर्ने दावीसहितको निवेदन परेपछि सचिवालय कमिटीले उक्त निर्णय गरिएको जनाइएको छ ।

निर्णय कार्यान्वयन गराउन लेखिएको पत्रमा भनिएको छ, ‘कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दावीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उपसचिव पदमा बहाल गर्ने । रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्ने ।’

यता, उपसचिवबाट बर्खास्त गरिएको भनिएका उपसचिव शाहीले भने त्यो निर्णय मनगढन्ते भएको बताएका छन् ।

‘हामी अधिवेशनबाट लोकतान्त्रिक विधि पद्वती अवलम्बन गरेर चुनाव जित्दै पदाधिकारीमा आएका हौं । अधिवेशनमा कार्यकर्ताले दिएको मतबाटै चुनिएका हौं । पार्टीको विधान बमोजिम कमिटिमा ३३ प्रतिशत महिला जनजाती, अल्पसंख्यक लगायतको व्यवस्था भएको भएपनि पदाधिकारीमा त्यस्तो कुनै व्यवस्था नै विधानमा छैन । विधान विपरित जसलाई मन लाग्यो, त्यसैलाई जिम्मेवारी दिने भन्ने कुरा हास्यास्पद हो । निर्वाचित कमिटिका पदाधिकारीको यो अधिकार खोस्ने अधिकार केन्द्रका महासचिव मात्रैहोईन, कसैको पनि हुँदैन र छैन ।’

उनले भने, ‘आज मेरो नाममा महासचिवलाई चित्त नबुझेको होला, भोली अध्यक्ष गुलावजंग शाहको नाममा कसैलाई चित्त नबुझ्ला, त्यस्तो भयो भने के अर्केलाई अध्यक्ष वा अन्य पदामा नियुक्ति गरेको पत्र पठाउने त ?’
उनले यस्तो गलत प्रवृत्ति पार्टीमा मौलाउनु राम्रो नहुने बताए ।

‘शपथ खाइसकेका छौं । दुई ओटा वैठक बसिसकेका छौं । विभिन्न निर्णय गर्दै कार्यान्वयनमा गइसकेका छौं ।’ उनले भने, ‘सचिवालय वैठकको हवाला दिएर मेरो नाम हटाउने र प्रदेश कमिटिमा मनोनित गर्ने भन्ने पत्र देख्दा हामी सबैलाई अच्चमित बनाएको छ । मैले त्यस्ता पत्रको कुनै वास्ता गर्ने कुरा भएन । हामी प्रदेश कमिटि सचिवालयको वैठक बसेर यसबारेमा आवश्यक निर्णय लिन्छौं । यो कार्यान्वयन नै नहुने निर्णय हो । न त यो विषयमा केन्दीइ सचिवालयमा कुनै छलफल भएको छ, न त कुनै निर्णय भएको छ । यो महासचिवको मनलाग्दी निर्णय हो । उनको यो निर्णय मान्न हामी तयार छैनौं ।’

अधिवेशनमा निर्वाचित भएका शाही यामलाल कँडेलको टिमका लडेका थिए भने खड्का गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट लडेकी थिइन् ।


सम्बन्धित समाचार