दैलेखको जाक्सी–निमायल सडक ठेकेदारले पारे अलपत्र
सुर्खेत ।
दैलेखको आठबीस नगरपालिका वडा नम्बर तीनको वडा कार्यालय जोडने सडक ठेकेदारले अलपत्र पारेका छन् ।
सडक अलपत्र पारिएसँगै सेवा लिन वडा कार्यालय जाने जाक्सी निमायल अम्तोला सडक निर्माण सम्झौताका म्याद सकिँदासमेत ठेकेदार कम्पनीले निर्माणमा कुनै चासो नदेखाएको हो ।
‘हामीले बारम्बार ठेकेदार कम्पनी र नयाँ शहरी विकास आयोजना कार्यालय राकम कर्णालीमा सडक निर्माण सम्पन्न गर्न बारम्बार अनुरोध गर्दै आएका छौं । मैले हालसम्म सयौं पटक कार्यालयमा गएर सडक निर्माण सुचारु गर्न अनुरोध गर्दै आइरहेको छु ।’ वडा नम्बर तीनका वडाअध्यक्ष नगेन्द्रराज कार्कीले भने, ‘पहिले सुरुमा ठेकेदारले फोन उठाउने गरेका भएपनि हाल उनले फोन उठाउनै छोडेका छन् ।’
कार्यालयले झण्डै तीन किलोमिटर दुरिको उक्त सडक कालापत्रे गर्ने भनेर टेण्डर आव्हान गरेको थियो ।
कार्यालयले गरेको टेण्डर सुर्खेत स्थित एम एस नान्जील्य एण्ड आकांक्षा कन्स्ट्रक्सन प्रालिले पाएको थियो ।
ठेक्का पाइसकेपछि कार्यालयसँग कम्पनीले एक वर्षमा सडक निर्माण गर्ने भन्दै २०७८ चैत २९ गते कुल रकमको ३५ प्रतिशत घटुवामा रु दुई करोड १७ लाख ५२ हजार ७०९ मा सम्झौता गरेको थियो ।
उक्त सम्झौता अनुसार निर्माण कम्पनीले २०७९ चैत २९ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने भएको भएपनि निर्माण अवधी सकिएको आठ महिना वित्न लाग्दा समेत निर्माणको कुनै चहलपहल सुरु नगरेको स्थानीयले गुनासो गरेका छन् ।
‘निर्माण कम्पनीले निर्माणको कुनैपनि काम गरेको छैन । कम्तिमा सम्झौता भएअनुसारको काम त सुरु गर्नुपथ्र्यो नि ?’ स्थानीयको गुनासो छ, ‘सम्झौता सम्पन्न भएको आठ महिना वित्नलाग्दा पनि निर्माण कम्पनी कानमा तेल हालेर बसिरहेको छ ।’
यता, आयोजना कार्यालयका इन्जिनियर प्रवेशराज लामीछानेले बारम्बार निर्माण कम्पनीसँग सडक निर्माणबारेमा तदारुकता दिन अनुरोध गरेपनि निर्माण कम्पनीले कुनै सुनुवाई नगरेको बताए ।
‘हामीले बारम्बार सडक निर्माणबारेमा तत्काल काम सुरु गर्न निर्देशन दिएका थियौं, तर कम्पनीले हालसम्म काम नै सम्पन्न गर्न सकेको छैन ।’ इन्जिनियर लामीछानेले भने, ‘याद सकिएको आठ महना पुग्न लाग्दा पनि निर्माण कम्पनीले काम सुरु नगरेको साँचो हो ।’
उता, निर्माण कम्पनीका मालिक श्रीधर केसिले दुई चार दिनमै काम सुरु गर्ने बताए ।
‘अबको दुई चार दिनमै म काम सुरु गर्छु ।’ पहिलोप्रेससँग उनले भने, ‘तत्काल काम सुरु गर्छु । बिबिध कारणले ढिलाइ भएको हो ।”
कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल शाहीले निर्माण कम्पनीले सडक निर्माणमा ढिलासुस्ती गर्न नहुने बताए ।
‘अहिले हामी प्रदेश भरिकै सडकको अवस्थाबारेमा विवरण तयार गरिरहेका छौं । कहाँ सडकको अवस्था के छ भन्ने जानकारी लिइ आवश्यक निर्देशन दिने तयारी गरेका छौं ।’ उनी भन्छन्, ‘पूर्वाधार निर्माणमा हेल्चेक्र्याई गर्नेलाई आवश्यक कानूनी कारवाही गर्न आवश्यक छ ।’
उनले अलपत्र पारिएका सबै सडकहरु तत्काल निर्माण सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको जनाए ।
पहिलोप्रेस
१३ मंसिर २०८०, बुधबार १०:३२