बेरोजगार बन्दै कर्णालीका जनप्रतिनिधि र मन्त्री, सामान्य कार्यक्रम उदघाटनमा समेत उपप्रधानमन्त्री !
शेरबहादुर थापा/सुर्खेत ।
नेपाल सरकारको दोश्रो वरियतामा रहेका उपप्रधान एवम रक्षा मन्त्री पूर्णबहादुर खड्का पछिल्लो समयमा मेला महोत्सव उदघाटनका लागि सुर्खेत जिल्ला निरन्तर आउजाउ गर्न थालेका छन् ।
विकास निर्माणमा पछि परेको कर्णालीका नागरिकको चाहना मुताविक प्रदेशमा बजेट ल्याउन प्रयत्न गर्नुपर्ने र कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएर पनि कर्णालीका लागि आवश्यक निर्णय नगरेको भन्दै पछिल्लो समयमा कर्णालीमा उनको आलोचना बढन थालेको छ ।
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र भई भूकम्प गएपछि नागरिकको उद्धार तथा उपचारमा प्रशंसनीय भूमिका खेलेको भन्दै कर्णालीमा व्यापक मात्रामा उनको योगदानको उच्च कदर गरिँदै आएको छ ।
तर, काठमाडौंबाट सुर्खेत आउजाउ गरिरहने नेता खड्काको पछिल्लो समयमा गाउँमा पालिका अध्यक्ष वा वडाअध्यक्षले उदघाटन गरे पुग्ने मेला महोत्सवको उद्घाटन गर्न पुग्नुले उपप्रधानमन्त्री खड्काले पदको मर्यादा कायम राख्न चुकेका हुन कि भन्ने देखिएको हो ।
मंसिर १३ गते उनि चिङ्गाड गाउँपालिकामा महोत्सव उदघाटन गर्न पुगेका छन् । उक्त पालिकाको ठाँटी बजारमा आयोजित चिङ्गाड महोत्सव एवम खेलकुद कार्यक्रमको उनले उदघाटन गरेका हुन । यो उनकै निर्वाचन क्षेत्र हो ।
उनले केहि दिनअघि मात्रै बराहताल गाउँपालिका वडा नं. पाँचमा रहेको बौद्व गुम्वाको उदघाटन गरेका थिए, यो भने उनको निर्वाचन क्षेत्र होइन ।
असोज २५ मा लागु औषध विरुद्ध कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको लालटिन अभियानको शुभारम्भ गरेका थिए । सोही दिन गुर्भाकोट नगरपालिकामा शुभाघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उदघाटन तथा हस्तान्तरण गर्न पुगेका थिए ।
असोज २६मा नेपाली काँग्रेस जाजरकोट जिल्ला सम्मेलनको उदघाटन गरेका उपप्रधानमन्त्री खड्का सोही दिन नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशको अधिवेशन गर्न वीरेन्द्रनगर पुगेका थिए ।
असोज २४ गते उनले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको शुभारम्भ गरेका उनले पुस महिनामा शुभघाट मेलाको उदघाटन गर्ने बताइएको छ ।
त्यसअघि उपप्रधानमन्त्री खड्काले सुर्खेतमा पुस २० देखि २५ गतेसम्म आयोजना हुने राष्ट्रिय भलिबल प्रतियोगिताको पनि उदघाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
यी माथि उल्लेख गरिएका केहि उदाहरण मात्र हुन । देशकै कार्यकारी निकायको दोश्रो वरियतामा रहेका उपप्रधानमन्त्री खड्का पछिल्लो समयमा मेला महोत्सव उदघाटन नै गर्न आई दिने भएपछि पालिकाका जनप्रतिनिधि तथा प्रदेश सरकारका मन्त्रीहरु ओझेलमा पर्न थालेका हुन ।
अर्थात,उपप्रधानमन्त्री खड्का नै सामान्य मेला महोत्सव देखि खानेपानी उदघाटनसम्मका कार्यक्रममा प्रमूख अतिथि भएर आईदिँदा प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु प्रमूख अतिथि बनेर भाषण गर्ने अवसरबाट बञ्चित हुन थालेका हुन ।
यद्यपी उपप्रधानमन्त्री खड्का सहभागि प्राय कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह र सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलको पनि उपस्थिति भने हुने गरेको छ ।
२०४८ साल देखि अधिकांश समय संसद तथा मन्त्री रहेका खड्का विगतमा भने यसरी साना कार्यक्रमको उदघाटन गर्न जाने गरेका थिएनन् ।
‘विगतमा उहाँ खासै गाउँमा उदघाटनका कार्यक्रमहरुमा जाने गरेको पाइएको थिएन । मैले देखेको थिएन,कतै त्यस्तै अवसर परेको अवस्था बाहेक ।’ नाम उल्लेख नगर्ने शर्तमा एक काँग्रेस नेताले पहिलोप्रेससँग भने, ‘तर उपसभापति तथा उपप्रधानमन्त्री भइसकेपछि भने उनको महिनामा बारम्बार सुर्खेत आउजाउ भइरहेको हुन्छ । त्यसको कारण जिल्लाका सुरक्षा निकायलाई पनि तनाव भइरहेको मैले महसुस गरेको छु ।’
उनले उपप्रधानमन्त्री सुर्खेत आउँदा जिल्लाका चारै सुरक्षा निकायले सुरक्षा दिनुपर्ने हुँदा सुरक्षा निकाय पनि तनावमा हुने गरेको खुलाए । ‘उहाँ विमानस्थलमा आउने समयमा प्रमूख जिल्ला अधिकारी देखि विभिन्न सुरक्षा निकायका प्रमूखहरु स्वागत गर्न लाईन लागेको देख्नु भएको होला नी ?’ उनले प्रस्ट पारे, ‘भिभिआइपी भएका कारण उनिहरु नाजउन पनि कसरी, जाउन भनेपनि कसरी ?’
उपप्रधानमन्त्री खड्का मेला महोत्सव उदघाटन गर्न मात्रै होइन, पार्टीका नेता कार्यकर्ताहरुका घरमा श्रद्वाञ्जली दिनसमेत जाने गरेका छन् ।
‘विरामीलाई भेटन जाने कुरा, नेता कार्यकर्ताका आफन्तलाई सान्त्वना दिन जाने कुरा त सामान्य नै भइसके सुर्खेतमा ।’ ती नेता भन्छन्, ‘गायिका कोम वलीको समेत घरमा उहाँ पुगिसक्नु भएको छ । यसको अर्थ उहाँ जानु हुँदैन भन्ने होईन तथा सरकारकै दोश्रो वरियतामा रहेका व्यक्तिले दलबलसहित त्यस्ता स्थानमा जानु सुरक्षाको दृष्टिकोणले समेत जोखिमपूर्ण छ ।’
पहिलोप्रेस
१३ मंसिर २०८०, बुधबार १६:१६