अझै पाएन आठबीसले कार्यकारी, दुई पालिका हेर्दै प्रमूख प्रशासकीय अधिकृत खड्का
सुर्खेत ।
दैलेखको आठबीस नगरपालिकाले हालसम्म पनि प्रमूख प्रशाससकीय अधिकृत पाउन सकेको छैन ।
दशैं अगावै नयाँ प्रमूख कार्यकारी आउने भनेर हल्ला चलाईएपनि कार्यकारी नआउँदा दैन्दिनका कामहरु प्रभावित बन्दै गइरहेको छ ।
संघ र प्रदेश सरकारलाई पुंजीगत विकास बजेटबाट झण्डै नौ करोड रुपैंया तिर्न बाँकी रहेको नगरपालिकामा विकास निर्माणका कामहरु करिब ठप्प भएका छन् ।
नौ वडा रहेको आठबीस नगरपालिकामा प्रति वडा दश लाखका दरले योजना छनौट गरिएको छ भने ती योजना कार्यान्वयनमा समेत दिनप्रतिदिन चुनौती थपिँदै गएको हो ।
प्रमूख प्रशासकीय अधिकृतको रुपमा हाललाई संघीय सामान्य प्रशासन मन्त्रालयले भगवतीमाई गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बखत बहादुर खड्कालाई तत्काल ‘आपत विपद’फुकाउन नगरपालिका हेर्ने जिम्मेवारी दिएको छ ।
एकै प्रमूख प्रशासकीय अधिकृतले दुई पालिका हेर्नुपर्ने अवस्था भएका कारण अधिकृत खड्काले भने पहिलो प्राथमिकता भगवतीमाईलाई नै दिने गरेका हुन ।
‘उहाँ कुनै अत्यावश्यक काम गर्नुपर्ने अवस्था भएको खण्डमा मात्रै नगरपालिकामा आउनुहुन्छ । उहाँलाई सधैं यतै बसिराख्न पनि दवाव दिन नसकिने अवस्था आइसकेको छ ।’ नगरपालिकाका एक कर्मचारी भन्छन्, ‘उहाँको दरवन्दी नै मुख्य रुपमा भगवतीमाई नै भएका कारण यहाँ अत्यावश्यक पर्दा पालिकाको गाडी नै पठाएर ल्याउने र पु¥याउने काम भइरहेको छ ।’
नगरपालिकामा रहेका नौ वडा मध्ये पाँच वडा जितेको एमालेको एकल कार्यपालिका छ । अर्थात बहुमत एमालेको छ । एमालेको प्रष्ट बहुमत भएको भएतापनि एमालेमा प्रष्ट रुपमा गुटगत राजनीति हावी हुँदा नगरपालिका प्रभावकारी रुपमा अघि बढन नसकेको एमालेकै कार्यकर्ताको गुनासो छ ।
चार ओटा वडाअध्यक्ष जितेको नेपाली काँग्रेस भने बेलामौकामा नगरपालिका विरुद्ध आन्दोलन गर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस तथा मागपत्रहरु शेयर गर्ने बाहेक अन्य कार्यक्रम गर्न निरीह देखिएको छ ।
राजनीतिक दलहरुका यस्ता समस्याका कारण आठबीस नगरपालिका दिनप्रतिदिन विकास निर्माणमा ओराो लाग्दै गएको छ भने राजनीतिक दलहरु नगरपालिकाको काम कारवाहीबारेमा बोल्न पनि नचाहेको देखिएको छ ।
पहिलोप्रेस
१३ मंसिर २०८०, बुधबार १६:२९