Loading... आजः ४ पुष २०८१, बिहीबार

५७ वर्ष पुरानो सुर्खेत विमानस्थल सार्ने तयारी, हालको विमानस्थललाई जंगल बनाईने

उपप्रधानमन्त्री खड्का एक नम्बरमा लैजान खोज्ने, सांसद थानी दुई नम्बरमै राख्न खोज्ने

शेर बहादुर थापा/सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थललाई जंगलमा रुपान्तरण गर्ने विषयमा अध्ययन गर्ने सरकारले नीति लिएको पाइएको छ । ५७ वर्ष पुरानो यो विमानस्थलबाट हाल काठमाडौंतर्फ दैनिक तीन उडान हुँदै आएका छन्, भने कर्णालीका विकट जिल्लामा पनि उडान हुँदै आइरहेका छन् ।

सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद एवम पूर्व मन्त्री हृदयराम थानीले सोमबार सामाजिक सञ्जालमा सुर्खेत विमानस्थलका बारेमा स्टाटसलेखेर सरकारका विभिन्न निकायले तयार पारेका पत्रहरु सार्वजनिक गरिदएिसँगै सुर्खेत विमानस्थललाई जंगलमा रुपान्तरण गराउने योजना चुहिएको हो ।

नेपाली काँग्रेसबाट निर्वाचित सांसद थानीले हालकै विमानस्थलको रनवे बढाएर ठूला जहाज बस्ने बनाउन आवश्यक रहेको बताउँदै आएका छन् । यसका बारेमा उनले बारम्बार संघीय संसदमा आवाज समेत उठाइरहेका छन्, तर काँग्रेस केन्द्रीय उपसभापति एवम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित, सरकारका उपप्रधान एवम रक्षा मन्त्री पूर्णबहादुर खड्का भने यो विमानस्थललाई सुर्खेत पूर्वको भेरीगंगामा सारीछाडने दृढ अठोटमा लागिरहेका छन् ।

काँग्रेसका दुई सांसदको मत नै दुईतर्फ भएपछि सुर्खेतका जनता भने अलमलमा पर्न थालेका छन् । सामाजिक सञ्जालमा सुर्खेत विमानस्थललाई सार्ने निर्णय भएको विषयमा पक्ष र विपक्षमा बहस, टीका टिप्पणी हुन थालेका छन् ।
कर्णालीको राजधानीमा रहेको विमानस्थललाई नै स्तरोन्नती गर्ने र त्यसका लागि आवश्यक बजेट दिन सकिने गरि कर्णाली प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता समेत गरेको थियो ।

कर्णाली प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ असोज १५ गते उक्त सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार विमानस्थलको रनवे बढाउनेबारेमा विभिन्न अध्ययन भएका थिए । नागरिकलाई मुआव्जा दिन भन्दै प्रदेश सरकारले वर्षेनी बजेट समेत विनियोजन गर्दै आइरहेको थियो तर मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेसका जीवनबहादुर शाही आएपछि भने विमानस्थल विस्तार गर्ने निर्णय नै क्लोज भएको थियो ।

प्रदेश सरकारले अर्को विमानस्थल निर्माण भन्दा पनि यसैलाई स्तरोन्नती गरे। अघि बढने रणनीति लिन थालेपछि तत्कालिन वीरेन्द्रनगर नगरपालिका नेतृत्व झस्किउको थियो । नगरप्रमूखका रुपमा देवकुमार सुवेदी रहेको उक्त पालिका नेतृत्वले २०७७ माघ तीन गते सुर्खेत विमानस्थल सार्ने विकल्पको खोजी गर्न सम्वन्धित निकायलाई पत्र लेख्ने निर्णय गरेको थियो । यो निर्णय एमालेको बहुमत प्राप्त कार्यपालिकाले गरेको थियो ।

नगरपालिकाले नै यस्तो निर्णय गरेपछि प्रदेश सरकारले विमानस्थल विस्तारको कार्यलाई अगाडी बढाउन सकेन भने विभिन्न राजनीतिक स्वार्थ समूहले विमानस्थलमाथि खेल्ने अवसर पाउन थाले ।

२०७९ सालमा निर्वाचन सम्पन्न भइसकेपछि सुर्खेत विमानस्थलको साटो अर्को स्थानमा विमानस्थल बनाउने भन्दै चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन भइसकेको छ ।

सुर्खेतको रामघाटमा सुर्खेत बिमानस्थलको विकल्पमा सुर्खेत भेरिगङ्गा –रामघाट बिमानस्थल बनाउन ईआइए गर्ने र सर्तहरूको बुँदा नं ७ मा रामघाट बिमानस्थल बनेपछि हाल संचालनमा रहेको सुर्खेत बिमानस्थललाई बनक्षेत्रका रुपमा बिकास गर्न सकिन्छ वा सकिँदैन भनी ईआइएमा बिकल्प बिश्लेषण गर्ने निर्णय २०८० वैशाख २७ गतेको पत्रमा उल्लेख गरिएको छ ।

यी सबै पत्रहरु सार्वजनिक भएसँगै कर्णालीका नागरिकहरु भइरहेकै विमानस्थललाई थप सुदृढ बनाउनुपर्ने बताउँदै आएका छन् । नयाँ विमानस्थल कहिले बन्ने, कसरी बन्ने भन्ने टुंगो नलाग्ने भन्दै विमानस्थल निर्माण योजना अलपत्र परेर फेरि नेपालगन्जकै विमानस्थल प्रयोग गर्ने दिनहरु आउने पो हुन कि भन्ने चिन्तामा कर्णाली वासी छन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले अहिले चलिरहेको विमानस्थललाई बन्द गरेर अर्को विमानस्थल बनाउन नहुने बताए । उनले अहिलेका लागि यहि विमानस्थललाई विस्तार गर्ने र ५० वर्ष पछिका लागि अर्को स्थानमा विमानस्थल निर्माण गर्दा नराम्रो नहुने उनको प्रतिक्रिया थियो ।

पोखरा, भैरहवा जस्ता शहरमा दुई विमानस्थल रहेको बताउँदै बजेट भएको खण्डमा सुर्खेतमा पनि दुई ओटा विमानस्थल बनाए राम्रो हुने उनको बुझाई छ ।

 


सम्बन्धित समाचार