Loading... आजः ३ पुष २०८१, बुधबार

नारायण नपाका नगरप्रमूख शर्माको कर्मचारी फिर्ता पठाउन मन्त्रालयलाइ मनगढन्ते पत्र, सरुवा भइ आएका उपसचिव आचार्यको गलत आचरण भएकाले हाजिर गर्न सकिँदैन

सुर्खेत ।
दैलेखको नारायण नगरपालिकाले मंसिर २८ गते सरुवा भएका उपसचिव दिपक कुमार आचार्यलाई अपुष्ट आरोप लगाई फिर्ता पठाएको खुलेको छ ।

सामान्य प्रशासन मन्त्रालयले उपसचिवको दरवन्दी भएको उक्त नगरपालिकामा आचार्यलाई प्रमूख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेर पठाएको थियो ।

आचार्यको सरुवा भएको पत्र नगरपालिकामा पुग्दा नगरप्रमूख लोमन शर्माले विभिन्न आरोप लगाउँदै उपसचिव आचार्य भन्दा अहिले कार्यरत निमित्त प्रमूख प्रशासकीय अधिकृत नै राम्रो भएको बताउँदै उनलाई हाजिर गराउन नसक्ने व्यहोरा सहितको पत्र सामान्य प्रशासन मन्त्रालयमा पठाएका हुन ।

पत्रमा मेयर शर्माले प्रस्तुत बिषयमा तहां मन्त्रालयको मिति २०८०÷०८÷२९ गतेको पत्र संख्या २०८०।०८१ च.न. १२३७ को पत्रानुसार यस नारायण नगरपालिकामा श्री दिपककुमार आचार्य (क.सं.नं.१५२१७४) लाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाईएको जानकारी प्राप्त भयो । मिती २०८०÷०८÷१२ गते तहाँ मन्त्रालय बाटै खटाईएका प्रमुख प्रशासकीय अधिकृत श्री बमबहादुर के.सी. (क.सं.नं.१६०५६७) ले प्रभावकारी रुपले कार्यसम्पादन गरिरहेको अवस्थामा कुनै सल्लाह नगरी विभिन्न स्थानीय तहमा विवादीत भएका श्री दिपककुमार आचार्यको गलत आचरण बारे अवगत हुदाँ हुदै निजलाई हाजिर गराउन नसकिने हुदाँ अन्यत्र व्यवस्थापन गरि दिनु हुन अनुरोध छ भन्ने व्यहोरा अनुरोध गरेका छन् ।

नगरपालिकामा उपसचिव आउन चाहँदा चाहँदै किन रोक्नु भएको हो भन्ने प्रश्नमा मेयर शर्माले गोलमटोल जवाफ दिए ।
उनले सरुवा भइ आएका कर्मचारी आचार्यका बारेमा विभिन्न कुरा सुनेकोले त्यस्तो पत्र पठाएको बताए । आचार्यले के त्यस्तो गरेछन भनेर पहिलोप्रेसले प्रश्न सोध्दा आफूलाई यसबारेमा खासै थाहा नभएको जवाफ फर्काए ।

‘त्यसबारेमा खासै थाहा छैन । मैले उहाँको बारेमा विभिन्न कुरा सुनेकोले पत्र पठाएको साँचो हो ।’ मेयर शर्माले भने, ‘अरु खास के के गलत कार्य भएको हो भन्ने बारेमा ठ्याक्कै जानकारी छैन ।’

उनले नगरपालिकामा उपसचिवको दरवन्दी रहेको स्वीकार गर्दै उपसचिव आउँदा किन खटाउन नचाहेको भन्ने प्रश्नको जवाफ दिन चाहेनन् ।

‘म अहिले एक वैठकमा छु । पछि कुरा गरौंला ।’ उनको भनाई थियो ।

यता, सरुवा भइ आएपनि नगरपालिकाले फिर्ता गर्न भनेर पत्र पठाएका उपसचिव आचार्य भने आफूलाई पत्रबारेमा खासै जानकारी नभएको बताए ।

‘म रौतहटमा छु । मलाई पत्रमा के लेखिएको छ, जानकारी छैन ।’ उनले भने, ‘म साथीहरुसँग फोन गरेर बुझ्छु ।’

 


सम्बन्धित समाचार