बीमा क्षेत्रमा थप लगानी बढाउने प्रदेश सरकारको तयारी, राष्ट्रिय वीमाद्धारा १२९ परिवारलाई वीमा रकम हस्तान्तरण
सुर्खेत ।
कात्तिक १७ गते गएको जाजरकोट भूकम्पमा परि ज्यान गुमाएका १२९ जना परिवारलाई दुई लाखका दरले रकम हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय वीमा कम्पनी लिमिटेड र प्रदेश सरकारबीच भएको प्राकृतिक प्रकोप वीमा अन्र्तगत भूकम्पमा परि ज्यान गुमाएका जाजरकोट र रुकुम पश्चिमका मृतकका आफन्तले सो रकम पाएका हुन ।
राष्ट्रिय वीमा कम्पनी सुर्खेतका शाखा प्रमूख राजेन्द्र सुनार, सहायक चौथो तोर्णप्रसाद सुवेदी, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी, मन्त्रालयका पदाधिकारी तथा विपद व्यवस्थापन शाखाका कर्मचारीहरुले स्थलगत रुपमै मृतकका आफन्तहरुलाई चेक हस्तान्तरण गरेका हुन ।
‘हामीले जिल्ला प्रशासन कार्यालयको विवरण र मन्त्रालयले पठाएको विवरणका आधारमा वीमा रकमको चेक हस्तान्तरण गरेका हौँ,’ सुवेदीले भने, ‘सोही आधारमा १२९ जनालाई चेक हस्तान्तरण सम्पन्न भइसकेको छ भने वाँकी कागजपत्र मगाउने कार्य जारी रहेको छ ।’
कार्यालय प्रमूख सुनारले सकेसम्म छिटो भन्दा छिटो मृतकका आफन्तले रकम पाउन भनेर काम गरिएको बताए ।
‘सिंगो कर्णाली समस्यामा थियो, अझै छ । हामीले दिने रकम तत्काल मृतकका आफन्तले पाउन भन्ने उदेश्यका साथ हामीले सरकारी संयन्त्रसँगको सहकार्यमा यो काम गरेका छौं । अब बाँकी २९ जनालाई पनि हामी चेक हस्तान्तरण गर्छौं ।’
उनले प्राकृतिक प्रकोपमा परि ज्यान गुमाएकाहरुलाई कम्पनीले वीमांक रकम प्रदान गर्दै आइरहेको बताए ।
‘हामी र प्रदेश सरकारबीच कर्णालीका नागरिकको दुर्घटना वीमामा सम्झौता भइ कार्यान्वयनमा गइसकेको छ ।’ उनी भन्छन, ‘सोही आधारमा उहाँहरुले प्रति मृतक दुई लाखका दरमा रकम प्राप्त गर्नु भएको हो ।’
यता, चेक हस्तान्तरण पछि दुवै जिल्लाका पीडित नागरिकले प्रदेश सरकार भएको महसुस गरेको आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले बताए । उनले भूकम्पमा परि ज्यान गुमाएका आफन्तहरुलाई प्रदेश सरकारमार्फत वितरित यो रकमले ठूलो राहत दिएको बताए ।
‘यो वीमाको बारेमा धेरै नागरिकलाई थाहा रहेनछ । प्रदेश सरकारले हाम्रा लागि ठूलो काम गरेको महसुस स्थानीयले गरे ।’ मन्त्री जिसीले भने, ‘यो वीमा कार्यक्रमले मृतक परिवारलाई केहि जीवन निर्वाहका लागि राहत पु्रयाउने भरोसा जागेको छ ।’
मन्त्री जिसिले आगामी दिनमा प्रदेश सरकारले सबै प्राकृतिक विपदमा पोलिसी खरिद गर्ने बताए । उदाहरणका लागि कृषि वीमा, घर वीमा, सम्पती वीमा, पशु वीमा आदि क्षेत्रमा जानुपर्ने देखिएको उनको भनाई छ । आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले वीमाका कार्यक्रमहरु विस्तार गर्नुपर्ने सकारात्मक शिक्षा दिएको मन्त्री जिसिले बताए ।
उनले कर्णालीमा घर वीमा कार्यक्रम स्वीकृत भएको बताए । तर उक्त कार्यक्रम लागु नहुँदै भूकम्प गएको बताए । त्यसकालागि पाँच करोड बजेट स्वीकृत भएको बताउँदै कर्णाली प्रदेश भरिका लागि घर वीमा गर्न ११ करोड लाग्ने अनुमान गरिएको बताए ।
घर वीमा भइदिएको भए घरका लागि अलग्गै प्रदेश र संघले दायित्व व्यहोर्नु भन्दा पनि वीमा कम्पनीले अर्बों व्यहोर्ने अवस्था आउने बताउँदै आगामी दिनमा प्रदेश सरकारले वीमा कार्यक्रमलाई तीव्र रुपमा अघि बढाउने बताए ।
पहिलोप्रेस
४ पुष २०८०, बुधबार १६:१४