एमाले सुर्खेतको स्वेच्छाचारिता विरुद्ध नयाँ कमिटि गठन गरेका हौँ: अध्यक्ष अधिकारी
सुर्खेत । नेकपा एमाले चौकुने गाउँ कमिटिको निर्वाचित कमिटिका ६५ जना पदाधिकारीसहित सदस्यलाई हटाएर नेकपा समाजवादीबाट आएकालाई समायोजन गर्ने भन्दै एमाले जिल्ला सचिवालयले प्रदेश कमिटिमा सिफारिस गरेसँगै एमाले चौकुनेमा निरन्तर गुट उपगुटका समानान्तर कमिटि बन्न थालेका छन् ।
आइतबार यामलाल अधिकारीको अध्यक्षतामा गाउँ कमिटि गठन गरिएपछि समानान्तर कमिटिको रुपमा तेस्रो कमिटि खडा भएको हो ।
२०७८ कार्तिकमा सम्पन्न प्रथम अधिवेशनबाट एमाले अध्यक्षमा हरि अधिकारी, उपाध्यक्षमा शंकर कामी, सचिवमा केशर नाम्जाली, उपसचिवमा कमला सुनार र जीत बहादुर तिरुवा चयन भएका थिए ।
निर्वाचित कमिटिले कार्यकाल पुरा गर्न नपाउँदै एमाले जिल्ला कमिटि सुर्खेतले निर्वाचित उपाध्यक्षशंकर कामीको संयोजकत्वमा नयाँ कमिटि गठन गरेको परिपत्र पालिकामा पठाएको थियो ।
उक्त समितिले समेत पुरा कार्यकाल व्यतित गर्न नपाएकै अवस्थामा गत असोज २८ गते बसेको एमाले सचिवालय वैठकले नेकपा एसबाट आएका नेता कार्यकर्तालाई समायोजन गर्ने भन्दै कामीको अध्यक्षतामा अर्को समिति गठन गरेको थियो ।
शंकर कामी अध्यक्ष रहेको उक्तमा उपाध्यक्षमा लक्षीराम आले(नेकपा एस), सचिवमा केशर नाम्जाली, उपसचिवमा दिपक दानी (नेकपा एस) र अमर बुढासहित ८७ सदस्यीय कमिटि चयन भएको बताउँदै प्रदेश कमिटिलाई अनुमोदन गरिदिन नेकपा एमाले जिल्ला सचिव कविन्द्र कुमार केसीले कार्तिक २१ गते हस्ताक्षरसहित प्रदेश कमिटिमा पत्र पेश गरेका थिए ।
‘पार्टी अध्यक्ष अृत विसिलाई समेत जानकारी नदिई कमिटि गठन भएको निर्णय गरिएको छ ।’ एमाले स्रोतले भन्यो, ‘यो कुराको बारेमा जानकारी आएपछि अध्यक्ष विसिलेसमेत आपत्ति जनाएका छन् ।’ स्रोतले दावी गर्यो ।
उक्त परिपत्रबारेमा चौकुने गाउँ कमिटिका पदाधिकारी तथा सदस्यहरुले सूचना पाएसँगै आइतबार नयाँ कमिटि गठन गरिएको हो । उक्त कमिटिमा अध्यक्षमा यामलाल अधिकारी, उपाध्यक्षमा शेरसिंह बुढाक्षेत्री, सचिवमा रतन बहादुर चलाउने, उपसचिवमा धना विक र एलिसा बुढा क्षेत्री चयन गरिएको सार्वजनिक भएको थियो ।
समानान्तर कमिटि गठन गरेको टिमले भने एमाले जिल्ला नेतृत्वमाथि स्वेच्छाचारिता बढाएको र आफूले आफैंलाई सर्वेसर्वा ठान्दै हैकमवादी प्रवृत्ति देखाएको आरोप लगाएको छ ।
‘हामी निर्वाचित कमिटिका व्यक्तिहरुलाई नसोधी, कुनै कारण विनै हटाउने अधिकार जिल्ला कमिटिलाई कसरी आयो ? यस्तो हैकमवादी तरिकाले संगठन चल्छ ?’ आधिकारिक रुपमा आफू नेतृत्वको कमिटि भएको बताउँदै अध्यक्ष अधिकारीले भने, ‘अब यो कमिटिलाई नै आधिकारिक मान्नुपर्छ, नभए हामी समानान्तर अभियान चलाउँछौं ।’
यता, प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष हरि अधिकारीले भने आफू नै आधिकारिक अध्यक्ष रहेको बताए । ‘ म नै निर्वाचित अध्यक्ष हो । मेरो नेतृत्वमा रहेको कमिटिको वैठक एक दुई दिनमा चौकुनेमा बस्दैछ ।’ उनले भने, ‘जिल्ला कमिटिको विभेदपूर्ण निर्णय मान्न हामी तयार छैनौं । पार्टी सचिवालयका नाममा गरिएका निर्णय मान्न हामी बाध्य छैनौं ।’
उनले जिल्ला सचिवालयले मनलाग्दी निर्णय गरेको बताउँदै यसबारेमा पाटीका माथिल्ला निकायमा कुरा राख्ने बताए ।
यता, नयाँ कमिटि गठन गरिएको सार्वजनिक भएसँगै एमाले सुर्खेतमा खैलाबैला मच्चिएको छ ।
एमाले जिल्ला सचिव केसीले त्यस्तो समानान्तर कमिटि गठन नभएको बताए ।
‘त्यस्तो नयाँ कमिटि गठन भएको छैन । शंकर कामी नेतृत्वको ९३ सदस्यीय कमिटि नै आधिकारिक हो ।’ उनले पहिलोप्रेससँग भने, ‘नेकपा एसका साथीहरुलाई पनि समाोजन गर्नुपर्ने भएका कारण हामीले कार्यसमितिको संख्या थपेर ९३ सदस्यीय बनाएका हौं ।’
उनले हरि अधिकारी नेतृत्वको कमिटि किन विघटन गर्नु भएको हो भन्ने बारेमा प्रतिक्रिया दिन चाहेनन् ।
पहिलोप्रेस
१८ मंसिर २०८०, सोमबार ०९:४७