काँग्रेसले लगायो आठबिसमा ताला, आठ महिना देखि नागरिकको बेहाल
सुर्खेत ।
दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिकामा नेपाली काँग्रेस आठवीस कार्य समितिले आज तालावन्दी गरेको छ ।
नौ ओटा वडा रहेको आठवीसमा काँग्रेसले चार ओटा वडामा जीत हात पारेको थियो भने एमालेले मेयर, उपमेयरसहित बाँकी वडामा जीत हात पारेको थियो ।
आर्थिक वर्ष सुरु भएदेखि हालसम्म बारम्बार प्रमूख् प्रशासकीय अधिकृत फेर्दे आएको नगरपालिकाले केहि दिन अघि मात्रै प्रमूख प्रशासकीय अधिकृतको रुपमा दिलबहादुर शाहीलाई नियुक्त गरेको थियो ।
उनि नियुक्त भएसँगै नगरपालिकाका काम कारवाही तीव्र रुपमा अघि बढने अपेक्षा गरिएपनि नगरप्रमुख तर्क बहादुर बडुवाल एकलौटी रुपमा चल्न थालेको, जनताले पाउने सेवा सुविधातर्फ ध्यान दिन नसकेको, नगरपालिकामा भ्रष्टाचार बढेको, सेवाग्राहीलाई सास्ती दिइरहेको आरोप काँग्रेसको छ ।
यस्तै, शिक्षक कर्मचारीहरुको तलव नदिइएको, सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको, विद्यालयमा दिवा खाजा कार्यक्रम तथा मसलन्द खर्च व्यवस्थापन नगरिएको, प्रमूख प्रशासकीय अधिकृत नहुँदा विकासे कार्यहरु ठप्प पारिएको काँग्रेसको आरोप छ ।
काँग्रेसले नगरपालिका सञ्चालन गर्दा नगरप्रमूखले एकलौटी गर्ने गरेको, नगरपालिकाको सत्तामा रहेका बाहेकलाई वेवास्ता गर्ने गरेको, वडा कार्यालयमा सचिवहरु नपठाएको तथा नगरपालिकाले संकलन गर्ने राजश्वको विवरण सार्वजनिक नगरेको आरोप लगाएको छ ।
नेपाली काँग्रेसबाट गत निर्वाचनमा नगरप्रमूखको उम्मेदवार बनेका प्रेमप्रकाश शाहीले आफू दुई पटक चुनाव लडदा पनि पराजित भएको बताउँदै जनताले दिएको म्याण्डेट अनुसारको काम सरकारले गर्न नसकेको आरोप लगाए ।
‘हामीले बारम्बार नगर सरकारको ध्यानाकर्षण गराएका छौं । विभिन्न ५६ बुदा भन्दा बढि मागहरु विगतदेखि नै राख्दै आइरहेका छौं, तर त्यसप्रति सरकार सधैं गैरजिम्मेवार बन्न थालेको कारण आज हामी बाध्य भएर तालावन्दी गर्ने निष्कर्षमा पुगेका हौं’, उनले भने ।
नगर सभापति अर्जुनबहादुर शाहीले फगुन १२ गते अर्थात आजका मितिमा काँग्रेसले राखेका मागहरु सम्वोधन गर्ने पत्र नगरप्रमूखले दिएका भएपनि कार्यान्वयन नगरिएको बताए ।
‘उहाँहरुले दिएको समय अनुसार हामी पर्खियौं तर आज नगरपालिकामा जाँदा न कर्मचारी भेटिएका छन, न त नगरप्रमूख नै भेटिएका छन् । यो भनेको गम्भीर सवाल हो’, उनले भने, ‘शान्तिपूर्ण रुपमा मागहरु सम्वोधन नगरिए आन्दोलन गर्नुको विकल्प नै छैन । जनतालाई सेवा प्रवाह नगरेको कुरा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं, आठबीसका जनताका लागि हामी हाम्रोतर्फबाट अधिकतम प्रयास गर्छौं ।’
जिल्ला कार्य समिति सदस्य नरबहादुर महतारा तथा डिल्ली प्रसाद खनालले एमाले नेतृत्वको सरकारमा अहमता बढेको बताउँदै जनताको काममा ध्यान दिने गरि दवाव दिन तालावन्दी गरिएको दावी गरे ।
यसैबीच, नगरपालिकामा तालावन्दी गरिएपछि उक्त तालावन्दीको एमालेकै नेताहरुले सर्मथन गरेको पाइएको छ । एमाले स्रोतका अनुसार नगरप्रमूख एकातिर र उपप्रमूख्सहित वडाअध्यक्षको टिम अर्कोतिर बढदा जनताको काममा समस्या सिर्जना भएको हो ।
केहि दिन अघि नगरपालिकाका कर्मचारी सरुवा गर्दा आफुहरुसँग सल्लाह नगरिएको भन्दै नगरपालिकामा रहेका एमालेकै अधिकांश जनप्रतिनिधिसमेत असन्तुष्ट बनेका छन् ।
पहिलोप्रेस
१३ फाल्गुन २०८०, आईतवार १६:१४