डिजिटल कर्णाली सपना साकार पार्न ‘डिजिटल कर्णाली कन्क्लेभ’ आयोजना हुँदै
सुर्खेत ।
कर्णाली प्रदेश सरकार स्थापना भएसँगै कर्णाली प्रदेशलाई डिजीटल प्रदेश निर्माण गर्ने भनेर नीति तथा कार्यक्रम एवम बजेट समेत ल्याइएको थियो । प्रदेश सरकारले डिजीटल प्रदेश निर्माण गर्ने भनेर प्रचार गरेपनि कर्णालीमा अझै नेट इन्टरनेट देखि विद्युत समेत नपुगेको भन्दै उतिबेला सरकारको चर्को आलोचना भएको थियो ।
तर, पछिल्लो समयमा कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय उक्त अभियानलाई कसरी सफल बनाउने र प्रदेशलाई डिजीटलाईज्ड गर्ने भन्ने बारेमा लाग्न थालेको छ ।
सोही अनुसार प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा डिजिटल कर्णाली कन्क्लेभ २०२४ फागुन १८ गते शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरिने भएको हो ।
कर्णाली प्रदेशको डिजिटलाइजेसन, डिजिटल साक्षरता विकास रूपान्तरणको लागि कनक्लेभ गर्न खोजिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले बताए । उनले दुई दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुग्ने बताए ।
राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानिय उत्पादन, कृषी, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्धन गर्नपनि कन्क्लेभले जोड दिने जनाए ।
मन्त्री जिसीले विषयगत प्राथमिकता निर्धारण गर्न आवश्यक नीतिगत निर्णय लिन सहज हुने विश्वास सहित यो आयोजना गरिएको बताए ।
उनका अनुसार कार्यक्रममा लाग्ने सबै खर्च विकास साझेदारले व्यहोर्नेछन ।
कर्णाली प्रदेश सरकारको दोस्रो योजना र वार्षिक विकास कार्यक्रम मार्फत डिजिटल कर्णालीका प्राथमिकता निर्धारण गरि कार्य गर्न यो कन्क्लेभ महत्वपुर्ण सावित हुने विश्वास गरिएको छ । यस कन्क्लेभलाई सफल पार्न कर्णालीवासी सबै सरोकारवालालाई मन्त्रालयले हार्दिक अपिल गरेको छ ।
दुई दिने कन्क्लेभमा ४० बढि सरोकारवाला र विज्ञहरु वक्ताको रुपमा सहभागिता रहने फाउण्डेशनका अध्यक्ष राजन लम्सालले बताए ।
कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रीत रहने कार्यक्रममा अन्य प्रदेशहरुबाट सम्बन्धित मन्त्री र सचिवहरुको पनि उपस्थिती रहने छ ।
यसैगरी, सघिय सरकार र सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्बन्धित सरोकारवालाहरुको कार्यक्रममा उपस्थिती रहनेछ ।
सुर्खेत, बिरेन्द्रनगर स्थित सिदार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्रीहरुको पावर सेसन रहेको छ भने सम्पुर्ण स्थानिय पालिका र जिल्लाबाट सरकारी र अन्य सरोकारवालाहरुको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको छ ।
यस्ता छन् सत्रहरु
कन्क्लेभमा ४ वटा महत्वपूर्ण किनोट प्रस्तुती र ६ वटा प्यानल सेसनहरु रहेका छन ।
शुक्रवार हुने उद्घाटन शत्रमा डिजिटल कर्णालीको सोच र नेतृत्व विषयमा पूर्व मुख्यमन्त्रीहरुको पावर सेसन मनोहर कुमार भट्टराइको कर्णालीको लागि डिजिटल रुपान्तरणका समाधान र इकोसिस्टम विषयमा किनोट प्रस्तुती रहनेछ ।
यसैगरी कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, विद्युत्तिय शुसासन आयोगका सिइयो दिपेश बिस्ट, न्यास आइटीका अध्यक्ष रिचन श्रेष्ठसँगै युएनडिपी, नेपाल दुरसञ्चार प्राधिकरण, पिएलजिएसपी र एसिया फाउण्डेसनको तर्फबाट कार्यपत्र प्रस्तुती हुनेछ ।
पहिलो दिन उद्घाटन पछिको सत्रमा डिजिटल पुर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट विषयमा प्यानल सेसनहरु सञ्चालन हुनेछन। दोश्रो दिनको पहिलो सत्रमा कर्णालीको लीग भइरहेका डिजिटल अभियान, आइडिया र प्रविधिको बारेमा केहि प्रस्तुती रहनेछ ।
कर्णाली प्रदेशको कृषी, पर्यटन, शिक्षा, स्वास्थ, डिजिटल पहुच लगायतका आइडियाहरु प्रस्तुत हुनेछन । यसैगरी डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्वन्धमा प्रस्तुती र प्यानल सेसन सञ्चालन हुनेछ ।
कार्यक्रमको पाचौ सेसन अन्तर्गत स्थानिय, प्रादेशिक र सघिय स्तरमा डिजिटल नेतृत्व र शुसासनको सुदृणिकरण विषयमा प्रस्तुती र प्यानल सेसन सञ्चालन हुनेछ । कार्यक्रमको समापन सेसनको रुपमा कर्णालीमा डिजिटल रुपान्तरणका मार्ग र गर्नुपर्ने कार्यहरुको बारेमा बहस हुनेछ। यसमार्फत प्रदेश सरकारले आगामी दिनमा गर्नुपर्ने कार्य र योजनाहरु बनाएर अगाडी बढ्नको लागि सहजता दिने अपेक्षा गरिएको छ ।
पहिलोप्रेस
१६ फाल्गुन २०८०, बुधबार १६:२६