एक वर्ष जेल बसेका कंडेल आज मुख्यमन्त्रीको शपथ लिँदै
सुर्खेत ।
२०७४ सालको निर्वाचनमा मुख्यमन्त्रीको दावी गर्दै प्रदेश सभा निर्वाचन लडेका सुर्खेतका यामलाल कंडेल २०७९ सालको निर्वाचन सम्पन्न भएको एक वर्ष पछि मात्रै मुख्यमन्त्री नियुक्त भएका छन् ।
विगत लामो समय एमालेको राजनीतिमा सक्रिय यामलालले आज दिउँसो तिन बजे कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा शपथ लिँदैछन् ।
केन्द्रमा भएको पछिल्लो सत्ता गठबन्धनको वाछिटाले उनलाई कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा प्रस्तुत गराइदिएको हो, यद्यपी कर्णालीलाई नेकपा माओवादीले विगतमा प्रतिष्ठाको विषय बनाउँदै आएपनि यसपटक एमालेलाई कर्णाली सुम्पिन प्रचण्ड तयार भएपछि एमाले संसदीय दलका नेता एवमा स्थायी कमिटि सदस्य कंडेलले मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका हुन ।
एमाले भित्र अनुशासित, निडर र सकेसम्म वचन नदिने तर वचन दिएको खण्डमा पुरा गर्ने नेताका रुपमा छवि बनाएको कंडेल २०७४ सालको निर्वाचनमा एमालेले ४० मध्ये २० सिट जितेपनि मुख्यमन्त्री बन्न पाएनन् । तर यसपटक ४० मध्ये १० सिट मात्रै भएपनि उनले मुख्यमन्त्री बन्न पाएका छन् । विगतमा सरकारको खोईरो खनिरहने जिम्मेवारीमा रहेका नेता कंडेलले अब जवाफ दिनुपर्ने अवस्थामा आएका छन् ।
२०१८ साल कात्तिक २५ गते भाइटिकाको दिन हालको गुराँस गाउँपालिकाको गाईबान्नामा जन्मेका नेता कंडेल पिता मनिराम कंडेल र माता स्व. भागिरथि कंडेलका सुपुत्र हुन ।
तीन छोरीका पिता कंडेलकी धर्मपत्नी गिता अधिकारी हुन भने हाल उनको वसोवास वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ४ भैरवस्थानमा रहेको छ ।
त्रिभुवन विश्व विद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक (विएड, एमकम) गरेका नेता कंडेलको राजनीतिक यात्रामा निकै उतारचढाव छ ।
२०३६ सालमा सुर्खेतको दशरथपुरमा पंचायती शासकविरुद्ध किसान आन्दोलन, सोही किसान आन्दोलनको प्रेरणाले राजनितिमा सक्रिय बनेका कंडेल तत्कालीन अवस्थामा हालको शिखर मावि रामघाटमा शिक्षण पेशामा संलग्न थिए ।
२०३९ साल देखि अनेरास्ववियूको प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनिति सुरु महेन्द्र बहुमुखी क्याम्पसको प्राकको सदस्य, सचिव हुदै भेरी अञ्चल कमिटी सदस्य, अञ्चल कमिटी सचिव हुदै केन्द्रीय कमिटी सदस्यसम्म बनेका नेता कंडेल २०४२ देखि २०४६ सम्म नेकपा (एमाले) काठमाण्डौंको विद्यार्थी फाँटको काममा संक्रिय, कमिटीको सदस्य हुंदै कार्यवाहक सचिवसम्म जिम्मेवारी प्राप्त गर्न सफल बनेका थिए ।
२०४१ सालमा शान्ति सुरक्षा मुद्दामा काठमाण्डौंको भद्रगोल जेलघरमा ९ महिना जेलजीवन विताएका नेता कंडेल २०४९ सालमा नेकपा (एमाले) सुर्खेतको प्रथम जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए ।
प्रजातन्त्र स्थापनापछि २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित बनेका नेता कंडेल २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट सुर्खेत क्षेत्र नं २ वाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यतिबेला नगरप्रमुख रहेका नेता कंडेलले नगरप्रमुखबाट राजीनामा दिएका थिए ।
२०५२ सालमा नेकपा (एमाले) भेरी अञ्चलको सचिव निर्वाचित बनेका कंडेल २०५४ सालमा (३६ वर्षको उमेरमा) नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री बनेका थिए ।
२०६२/२०६३ सालमा राजा ज्ञानेन्द्रको निंरकुशता विरुद्धको आन्दोलनमा सहभागी नेता कंडेल आन्दोलनको नेतृत्व गर्दा सुर्खेतको वीरेन्द्रनगरबाट गिरफ्तार, बनेका थिए । सोही क्रममा उनि सुर्खेत कारागारमा ३ महिना जेल बसेका थिए ।
२०६४ सालको पहिलो संविधासभा निर्वाचनमा सुर्खेत क्षेत्र नं २ वाट संविधान सभा सदस्य निर्वाचित नेता कंडेल पार्टीको नवौं महाधिवेशबाट केन्द्रीय सदस्य हुदैं पोलिटव्यूरो सदस्यमा निर्वाचित, तत्कालिन भेरी अंचल इन्चार्ज हुदै पार्टीको कर्णाली प्रदेश सहसंयोजक बने ।
२०७२ मा संविधान निर्माणको क्रममा तत्कालीन कर्णाली र भेरीका केही जिल्ला सुदुरपश्चिम प्रदेशमा मिसाएपछि छुट्टै प्रदेशको माग राखेर गरिएको जनआन्दोलनको अगुवाई गरेका कंडेल २०७४ सालमा सुर्खेत प्रदेशसभा निर्वाचन २ (क) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित बने । उनि केहि समय सत्ता पक्षमा रहेपनि लामो समय भने प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकामा रहे ।
२०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले) पार्टीको दशांै महाधिवेशन पछि पार्टीको स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशको इन्चार्जको भूमिका प्राप्त गरेका नेता कंडेल हाल स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्जको भूमिकामा छन् ।
२०७९ सालमा सुर्खेतको प्रदेशसभा निर्वाचन २ (क) बाट पुनः कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका नेता कंडेलले आज मुख्यमन्त्रीको शपथ लिँदैछन् ।
अमेरिका, क्यानाडा, चीन, श्रीलंका, बेलायत, टर्कीलगायतका देशहरुको भ्रमण गरिसकेका नेता कंडेलको आगामी कार्यकाल कस्तो हुनेछ, त्यहिबाट उनको मूल्यांकन सुरु हुनेछ ।
पहिलोप्रेस
२८ चैत्र २०८०, बुधबार ०८:४९