Loading... आजः ४ पुष २०८१, बिहीबार

चार दिन देखि युवती मृत्यू प्रकरणमा आन्दोलन जारी, शान्तिपूर्ण आन्दोलनलाई टेर्दैन कर्णाली

कर्णाली राजमार्ग अवरुद्व गरिँदै

सुर्खेत ।
दैलेखको आठबीस नगरपालिका वडा नं. पाँच पिपलकोटकी २२ वर्षीया युवती भिमा गुरुङ बलामीको मृत्यू भएको चार दिन वितिसकेको छ । प्रदेश अस्पतालमा हिँडेर पाठेघर सफा गराउन गएकी भिमाको अस्पतालमै निधन भयो ।

प्रदेश अस्पतालमा उनको निधन भएपछि लगातार मृतकका आफन्तहरु आन्दोलित छन् । उनिहरुले आठ महिने शिशुको लालन पालनको व्यवस्था गरिनुपर्ने, परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने र एक छानविन समिति बनाई दोषी स्वास्थ्यकर्मीमाथि कारवाही गर्नुपर्ने भन्दै शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका छन् ।

प्रदेश अस्पताल परिसरमा दिनहुँ शान्तिपूर्ण आन्दोलन गरिरहेता पनि सरोकारवाला निकाय भने मौन छ ।

कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरमा कुनै घटना वा दुर्घटना भएको खण्डमा तोडफोड, आगजनी, चक्काजाम नगरेसम्म पीडितका मागहरुको सुनुवाई नगर्ने प्रचलन हावी हुँदै गइरहेको बेला मृतक भिमाका आफन्तले शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्, तर उनिहरुको माग सुनुवाई हुन सकेको छैन ।
चार दिन वित्दासमेत मागहरुको सुनुवाई नभएपछि आइतबार कर्णाली राजमार्गसमेत मृतकका आफन्तले अवरुद्ध गरेका छन् ।

‘हामीले गरेको शान्तिपूर्ण आन्दोलनलाई सम्वन्धित पक्षले नटेरेको देखियो ।’ मृतकका आफन्त हर्क बलामीले भने, ‘हाम्रा जायज मागहरु तत्काल सुनुवाई नभएको खण्डमा हामी थप आन्दोलनका कार्यक्रम गर्छौं । आन्दोलनको क्रममा केहि क्षति भए त्यसको जिम्मेवार सम्वन्धित निकाय नै हुनेछ ।’

आफन्तले आन्दोलनलाई थप परिस्कृत गर्दै अघि बढने बताएका छन् ।

 


सम्बन्धित समाचार