Loading... आजः १४ जेष्ठ २०८१, सोमबार

उच्च स्तरीय छानबिन समिती बनाउन आलटाल गरेपछी प्रदेश अस्पतालको शव गृहमै छोडे आफन्तले भिमाको शव


सुर्खेत ।
दैलेखको आठबिस नगरपालिका वडा नम्बर पाच पिपलकोट निवासी भिमा गुरुङको उपचारका क्रममा “हत्या” गरिएको भन्दै मृतकका आफन्तले अब शव नलिने भन्दै दैलेख फर्किएका छन ।

आज बिरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मृतकका आफन्तले शान्तिपुर्ण आन्दोलन गरेपनी राज्यले नसुनेको भन्दै भिमाको शव प्रदेश अस्पतालकै जिम्मा छोड्ने निस्कर्श निकालेको बताएका हुन ।

“यहि मिति २०८० चैत्र २८ गतेका दिन दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं. ५, पिपलकोट निवासी २२ वर्षिया भिमा गुरूङ्ग सामान्य पेट दुःखाईसम्बन्धी समस्या भई हिँडेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि गएकोमा अस्पतालका डाक्टरले पेटमा ३ महिनाको सालनाल रहेकाले सामान्य सफाई गर्नु पर्ने भनी अस्पताल भर्ना गरिएको थियो । भिमाको सल्यक्रिया गर्नुभन्दा अगाडि २०८० चैत्र २९ गते डाक्टरहरूको टिमले यो केश सामान्य भएकाले चिन्ता नगर्नु भनी घर परिवारका मान्छेलाई भनी शल्यक्रिया कक्षमा लगिएको थियो । २०८० चैत्र २९ गतेकै दिन अपरान्ह ३ बजेभन्दा १० मिनेट अगाडिसम्म सबै ठिकै छ भनेर रगत चडाइरहेकोमा एक्कासी ३ बजेतिर तपाईँको विरामी अवस्था धेरै नै जटिल भयो भनी खबर गरिएको र त्यसको केहि समयपछि मृत्यु भएको जानकारी गराइएको थियो । सल्यक्रिया क्रममा विरामीको अवस्थाको विषयमा बीचमा कुनै जानकारी नगराइनु र डाक्टरहरूको हाऊभाऊ हेर्दाखेरी हतास मानसिकतामा देखिनुले गम्भिर त्रुटी र लापरवाहीका कारण मृत्यू भएको कुरामा कुनै शङ्का छैन् ।
घटनापछि बेलुका कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कासँग छलफल हुँदा यो केश हजारौंमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भिर खालको समस्या भएकाले बचाउन नसकिएको भनी जवाफ दिनु भएको थियो । यदि यो केश निकै जटिल र गम्भिर खालको थियो भने शल्यक्रिया गर्नुभन्दा अगाडि विरामीको श्रीमान् तथा घर परिवारको मान्छेलाई किन जानकारी गराइएन् ? अर्को कुरा त्यस्तो गम्भिर केश थियो भने स्त्री रोगसम्बन्धी सिनियर डाक्टरहरू उपचारमा किन सङ्लग्न हुन भएन ? प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का स्वयम् स्त्री रोग विशेषज्ञ हुँदाहुँदै आफैले पनि किन उपचारमा चासो दिनु भएन ? सबैलाई थाह भएकै कुरा हो कि प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का नीजि अस्पताल सञ्चालक पनि हुनुहुन्छ । कतै उहाँहरूलाई प्रदेश अस्पतालभन्दा आफ्ना नीजि अस्पताल र क्लिनिकप्रति बढि चाँसो चिन्ता भएकाले भिमा गुरूङ्गले मृत्यूवरण गर्नु परेको त होइन ? यी विभिन्न कारणहरूले गर्दा डाक्टरहरूको लापरवाहीका कारण ८ महिने नाबालिका दुधे छोरीलाई छोडेर भिमा गुरूङ्गले यो संसार त्याग्नु पर्ने अवस्था आएको हो । यसकारण भिमा गुरूङ्गको मृत्यूको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनु पर्दछ ।”

मृतकका आफन्तले जारी गरेको बिग्यप्तिमा भनिएको छ, “घर परिवारका मानिसहरूले ८ महिने नाबालिका दुधे बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्य मध्ये १ जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेण्टी र घटनाको उच्च स्तरिय छानविन समिति गठनको माग राखी शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भिरतापूर्वक नलिई गैह्र जिम्मेवारीपना प्रदर्शन गरेको छ । हाम्रो घरपरिवारको सदस्यको अकल्पनिय, अस्वभाविक एवम् असमाहिक मृत्यूका कारण पिँडामा तड्पिरहेका हामी सामान्य गरिव परिवारका मानिस सुर्खेतजस्तो महँगो सहरमा बस्न र आन्दोलन गरिरहन नसक्ने अवस्था भएकाले मृतक भिमा गुरूङ्गको लाशलाई यहि प्रदेश अस्पतालमै छोडेर आफ्नो घर जान लागेको कुरा सम्पूर्ण न्यायप्रेमी जनसमुदाय तथा पत्रकारज्यूहरूलाई स–विनम्र अवगत गराउन चाहन्छौं । यस दुःखको घडीमा हामीलाई साथ दिनुहुने सम्पूर्ण आफन्तजन, नातागोता, इष्टमित्र, साथीभाई, शुभचिन्तक तथा न्यायप्रेमी आम जनसमुदायलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । साथै यस विषयमा हामी नेपाल सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, महिला संजाल र सरोकारवाला सबै पक्षको ध्यान आकर्षण समेत गराउन चाहन्छौं ।”

धनबहादुर बलामी मगर (मृतकको सुसुरा) गोविन्दबहादुर गुरूङ्ग (मृतकको बुवा)
मितिः २०८१ बैशाख ५ गते


सम्बन्धित समाचार