Loading... आजः २५ भाद्र २०८१, मंगलवार

सुर्खेतका सामूदायिक विद्यालयमा विद्यार्थीको थेगिनसक्नु चाप

शिक्षक, कर्मचारी देखि भौतिक संरचनाको अभाव
पहिलो तस्वीरमा जन नमूना माध्यमिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीहरुको लाईन, दोश्रो तस्वीरमा अमरज्योति माविमा भर्ना हुने जम्मा भएका विद्यार्थीहरु ।

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका सामूदायिक विद्यालयमा विद्यार्थीहरुको थेगि नसक्नु चाप देखिएको छ ।

जिल्लामा नामै कहलिएका जन नमूना माध्यमिक विद्यालय, अमरज्योति नमूना माध्यमिक विद्यालय, श्री कृष्ण संस्कृत मावि लगायतका विद्यालयमा भर्ना हुन नीजि विद्यालयबाट ठूलो संख्यामा विद्यार्थी ओईरिएपछि विद्यालयलाई ‘तनाव’को स्थिति आइलागेको पाइएको हो ।

अमरज्योति नमूना माध्यमिक विद्यालय नेवारेमा नयाँ भर्ना बाहेक १७ सय जना विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् । यसबाहेक कक्षा नौ मा नयाँ भर्नाका लागि भन्दै २०८ जनाले प्रवेश परीक्षा दिएको प्रधानाध्यापक खगेन्द्र थापाले बताए । उक्त कक्षामा यसअघि पाँच सेक्सन छन भने यी सबै विद्यार्थीलाई भर्ना लिने हो भने थप चार सेक्सन बनाउनुपर्ने अवस्था छन ।

यस्तै, कक्षा ८ मा १२० जनाले परीक्षा दिएका छन् भने कक्षा सातमा पर्यााप्त विद्यार्थी भएका कारण विद्यालयले भर्ना नै खुलाएन ।

कक्षा ६ मा १७० जनाले भर्नाका लागि आवेदन दिएका छन् ।

यता, गत वर्ष विद्यार्थी भर्ना नलिएको जन नमूना माध्यमिक विद्यालयमा झण्डै २४ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक याम श्रेष्ठका अनुसार विद्यालयमा बालविकास, कक्षा ६ देखि नौ सम्म नयाँ भर्ना हुन चाहने विद्यार्थीहरुको संख्या हो यो ।

उनका अनुसार कक्षा ६ मा नेपाली र अंग्रेजी माध्यमका लागि भन्दै ६३२ जनाले आवेदन दिएका थिए भने परीक्षामा ५८२ जना सहभागि भएका छन् । कक्षा ७ मा ४२१ जनाले आवेदन दिएकोमा ३७० जनाले परीक्षा दिएका छन् ।

कक्षा आठमा ५७० जनाले आवेदन दिएकोमा ५१९ जनाले परीक्षा दिएका छन भने कक्षा नौ मा ५४ जनाले प्रवेश परीक्षाका लागि आवेदन दिएकामा ५९३ जनाले परीक्षा दिएका छन् ।

बालविकासमा ६९ जनाले परीक्षा दिएको प्रअ श्रेष्ठले जनाकारी दिए ।

अर्थात यी कक्षाहरुमा भर्ना हुन चाहने विद्यार्थीहरुको संख्या २,३५७ रहेकोमा २,१३३ ले प्रवेश परीक्षा दिएका छन् ।
वीरेन्द्रनगर ७ इत्राममा रहेको श्री कृष्ण संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थीहरुको चाप धेरै देखिएन । विद्यालयका प्रधानाध्यापक लोकबहादुर खत्रीका अनुसार नयाँ भर्नाका लागि कक्षा ६ देखि ९ सम्म २१५ जनाले आवेदन दिएकामा ११५ जना मात्रै भर्ना भएका छन् ।

‘हाम्रो विद्यालयमा भौतिक स्रोत साधन कम छ । भौतिक संरचनाका अवस्थाले धेरै विद्यार्थीहरु भर्ना गर्न सकिने अवस्था थिएन । हाम्रालागि ठिकै संख्यामा विद्यार्थी आएका छन् ।’उनले भने, ‘हाम्रा नियमित विद्यार्थीहरु बाहिरका जिल्लाका भएका कारण भर्ना हुन आइपुग्नु भएको छैन । १२ गतेबाट अध्यापन कार्य सुरु हुने भएकाले उहाँहरु त्यहि बेला आउनुहुने सम्भावना छ ।’

यता, अमरज्योति र जन नमूना माविले आज नतिजा प्रकाशन गर्ने भएका छन् ।

‘हाम्रो विद्यालयमा विद्यार्थी संख्या अतधिक आएको छ । कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति थपिएको छ ।’ प्रअ थापाले भने, ‘प्रवेश परीक्षा दिइसकेपछि पनि सयौं विद्यार्थीहरु भर्नाका लागि आएका छन्, तर हामीसँग कक्षा कोठा अभाव भएका कारण चाहेर पनि विद्यार्थी भर्ना लिन सक्ने अवस्था रहेन ।’ प्रअ थापाका अनुसार विद्यालयमा भौतिक संरचना निर्माणका लागि जग्गा भएपनि विमानस्थल विस्तार गर्ने ‘हल्ला’ले समस्या पारेको हो ।

जन नमूना माध्यमिक विद्यालयका प्रअ श्रेष्ठले आज विद्यार्थीहरुको नतिजा प्रकाशन गर्ने बताए । ‘परीक्षा लिईसकिएको छ । गत वर्ष हामीले विद्यार्थी भर्ना नलिएका कारण केहि संख्या कम भएको थियो, सोही आधारमा हामीले यो वर्ष भर्ना खोलेका थियौं ।’ उनले भने, ‘तर अपेक्षा गरेभन्दा बढि विद्यार्थीहरु प्रवेश परीक्षा दिन आएका छन् । कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्यौलता बढिरहेको छ ।’

उसो त दुवै विद्यालयका प्रअ र विव्यस अध्यक्षहरु आफूहरुले राम्रो काम गरिरहेको भएपनि नागरिक समाजका केहि तप्काले उछितो काटने गरेको भन्दै गुनासो गर्दै आइरहेका छन् ।

‘मौलिक हकमा निःशुल्क शिक्षा भनिएको छ, २०५१ सालकै दरवन्दी अनुसार विद्यालयमा शिक्षकहरु खटाइएको छ ।’ जन नमूना माविका विव्यस अध्यक्ष गोविन्द कोइराला भन्छन, ‘शिक्षक मात्रै होईन, सुरक्षा गार्ड, सफाई कर्मचारी, कार्यालय सहयोगि, अन्य कर्मचारीहरु विद्यालयले नै व्यवस्थापन गर्न परिरहेको अवस्था छ । निःशुल्क शिक्षा भनेर कानून ल्याउने तर उक्त वातावरण बनाउन राज्य चुक्ने गरेका कारण यस्तो समस्या आएको हो ।’

संविधानले कक्षा ८ सम्म अनिवार्य शिक्षा तथा माध्यमिक तह निःशुल्क शिक्षा भनेर उल्लेख गरेपनि सबैको आलोचनाको पात्र सामूदायिक विद्यालय हुनु दुःखद रहेको कोईरालाको गुनासो छ ।

‘सामूदायिक विद्यालयले मात्रै निःशुल्क शिक्षा दिने होइन होला, अन्य संस्थागत र नीजि क्षेत्रका विद्यालयले शुल्क लिने गरेका छन्, त्यसो हो भने संविधान कार्यान्वयन गर्ने जिम्मा सामूदायिक विद्यालयको मात्रै हो त ?’ उनको प्रश्न छ, ‘निःशुल्क शिक्षा भनेर कार्यान्वयन गर्ने हो भने त्यहि अनुसारको दरवन्दीको व्यवस्था हुनुपर्ने आवाज नागरिक समाजबाट उठनुको साटो विद्यालय सञ्चालनका लागि हामीले थोरै सहयोग लिँदा किन पक्षपातपूर्ण व्यवहार गर्ने गरिन्छ, हामी अच्चमित छौं ।’

उनका अनुसार आज विद्यालयले नतिजा प्रशान गर्ने र कति जना विद्यार्थीलाई भर्ना गराउने भन्ने बारेमा निर्देशक समितिको वैठक बसेर आवश्यक निर्णय गर्ने भएको छ ।