Loading... आजः ४ पुष २०८१, बिहीबार

‘असफल’ यात्राकाे सुरुवात गरेकै हुन त मुख्यमन्त्री यामलालले !

यहि हप्ता सरकार विस्तार गर्ने एमालेको दावी

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलको यात्रा असफलतातर्फ उन्मुख हुन थालेको राजनीतिक वृत्तमा ‘हल्ला’ चल्न थालेको छ ।

२०७४ सालको निर्वाचनमा मुख्यमन्त्री बन्ने मुख्य योजनाका साथ प्रदेश चुनावमा झरेका कंडेल पहिलो कार्यकालमा प्रदेश सभाको कुल सदस्य संख्याको पचास प्रतिशत जनप्रतिनिधि हुँदापनि उनको मुख्यमन्त्री बन्ने योजना असफल बन्यो ।

तर, दोश्रो कार्यकालमा कुल चालीस सिट मध्ये १० सिट एमालेले ल्याएको भएपनि मुख्यमन्त्रीको रुपमा उनि चैत २७ गते नियुक्त हुन सफल भए । उनले पदभार भने २८ चैतमा गरेका थिए । उनि आधिकारिक रुपमा मुख्यमन्त्री बनेको दुई साता पुगेको छ तर एक जना मन्त्री पनि नियुक्त गर्न उनि असफल भएसँगै कतै असफल मुख्यमन्त्रीको रुपमा इतिहासमा नाम त लेखाउँदै छैनन यामलाल भनेर शंसय बढन थालेको छ ।

विगतमा सदनमा सरकार विस्तारमा ढिलाई भएको भन्दै बारम्बार रोष्ट्रममा उभिएर सरकारको आलोचना गर्ने गरेका मुख्यमन्त्री कंडेलले दुई साता वित्दासमेत विना विभागिय मन्त्रीसमेत नियुक्त गर्न सकेका छैनन ।

प्रमुख सत्तारुढ दल नेकपा माओवादीले तत्कालिन मुख्यमन्त्री राजकुमार शर्माको पालामा एमालेले लिएको मन्त्रालय आफूहरुलाई जिम्मा दिनुपर्ने भनेर माग गरेपनि यामलाल भने पेलेरै जाने निर्णयमा पुगेको जस्तो देखिन थालेको छ ।
अर्थात, माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उर्जा मन्त्रालय अनिवार्य पाउनुपर्ने अडान लिइरहेको छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग वन तथा पर्यटन मन्त्रालय मध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने दावी गर्दै आइरहेको छ ।

तर मुख्यमन्त्री कंडेलले भने सामाजिक विकास मन्त्रालय आफैले पाउनुपर्ने भन्दै दावी गरिरहेका छन् । ‘सरकारको नेतृत्व उहाँ आफैंले गर्दै आउनु भएको छ, त्यसैमा उहाँले नै मन्त्रालयमा दावी गरिरहनु भएको छ । माग सम्वोधन गर्नेले नै माग गर्न थालेपछि कसरी सरकार विस्तार हुन्छ होला ?’ निवर्तमान भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री मंगल शाही भन्छन्, ‘हामीले माग गरेको कुरा उहाँले दिनुपर्छ । नभए सरकारमा हामी जान सक्ने अवस्था नै हुँदैन ।’

यता, माओवादीले चार मन्त्रालय र एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय पाउने सहमति भइसकेको छ । एमालेले मुख्यमन्त्री पाइसकेको अवस्था छ भने वाँकी तीन मन्त्री एमालेले चाहेको समयमा नियुक्त गर्न सक्छ तर मुख्यमन्त्री कंडेलले भने हालसम्म आफ्नै दलबाटसमेत मन्त्री नियुक्त गर्न सकेका छैनन ।

‘हामीले मन्त्री नियुक्त गर्न उहाँलाई रोकेका छैनौं ।’ माओवादी संसदीय दलका नेता राजकुमार शर्मा भन्छन, ‘हामीले माग गरेका मन्त्रालय जिम्मा दिए एक मिनेटमै म नाम पठाई दिन्छु भनेकै छु । उहाँहरुले आफ्नो दलबाट मन्त्री नियुक्त गरेर मन्त्री मण्डल विस्तार गर्न हामीले रोकेका पनि छैनौं नि ।’

उनले माओवादीका कारण सरकार विस्तार गर्न मुख्यमन्त्री कंडेललाई सकस परेको भनेर बजारमा एमालेले नै हल्ला चलाएको भन्दै त्यो हल्ला भ्रामक रहेको प्रतिक्रिया दिए ।

‘हिजो म मुख्यमन्त्री हुँदा उहाँहरुले मागे बमोजिमको मन्त्रालय दिएको कति छिटो एमालेले विर्सेको हो ?’ उनि भन्छन, ‘अहिले उहाँसँग विगतका अभ्यास अनुसारका मन्त्रालय दिनुस भनेर भन्दा उल्टै माओवादीलाई दोष दिने कार्य राम्रो होईन । अहिले उहाँहरु माग सम्वोधन गर्ने र सत्तारुढ दलहरुलाई मिलाएर लैजाने पोजिसनमा हुनुहुन्छ नि, त्यो कुराको ख्याल गर्न प¥यो ।’

यता, नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले एमाले नेतृत्वको सरकार असफल भएको मान्न नसकिने दावी गरेका छन् ।

‘दुई हप्ता मन्त्री मण्डल गठनमा ढिलाई भनेको सामान्य कुरा हो । विगतमा पनि लामै सयमसम्म सरकार विस्तार नभएको इतिहास छ ।जीवन शाहीको पालमा त तीन महिना समय लागेको तपाईलाई जानकारी नै छ । तसर्थ सरकार विस्तारमा केहि दिन ढिलाई हुँदा अनौठो मान्नु परेन ।’ उनले भने, ‘हिजो हामीले शर्मा नेतृत्वको सरकारमा तीन मन्त्रालय सहज रुपमा पाएका थियौं, त्यो स्वीकार्छौं, तर त्यतिबेला उहाँहरुले मुख्यमन्त्रीसहितचार मन्त्रालय लिनु भएको थियो नि । त्यहि भएर हामीले मन्त्रालयमा सहमति गरेर जाऔं भनिरहेका छौं ।’

उनले अबको केहि दिनमा नै सरकार विस्तार हुने दावीसमेत गरेका छन् ।


सम्बन्धित समाचार