सुर्खेतको जन नमूना माविले स्थानीयलाई निःशुल्क खानेपानी वितरण गर्ने
सुर्खेत ।
कर्णाली प्रदेशकै नमूना विद्यालयको रुपमा स्थापित वीरेन्द्रनगरमा रहेको जन नमूना माध्यमिक विद्यालयले स्थानीयलाई विहान र वेलुकाको समयमा निःशुल्क खानेपानी वितरण गर्ने भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोईरालाले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै विगतका वर्षहरुमा जस्तै यस वर्षपनि स्थानीयलाई निःशुल्क रुपमा खानेपानी वितरण गर्न लागिएको जानकारी दिएका हुन ।
वीरेन्द्रनगरको मुटु वडा नं. ६ पिपलचौतारामा अवस्थित उक्त विद्यालयले विहान र साँझ स्थानीयलाई पानी वितरण गर्ने तयारी गरेको प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए ।
‘गर्मी अत्यन्तै बढेको छ । स्थानीयवासीले खानेपानी पाउन नसकेको गुनासो बढन थालेको छ ।’ उनले भने, ‘सामाजिक उत्तरदायित्व अन्र्तगत हामीले स्थानीयवासीलाई विहान र वेलुका विद्यालयको पुर्विद्वारबाट कम्तिमा एक–एक घण्टा पानी वितरण गर्न लागेका हौं । स्थानीयहरु आउनु भएको खण्डमा आजै साँझबाट पनि हामी खानेपानी वितरण गर्न सक्छौं ।’
विव्यस अध्यक्ष कोइरालाका अनुसार यस्तो छ पानी पाउने समूदायकालागि व्यवस्थाः
१) २०८१ साल ज्येष्ठ ६ गते साँझ ५ बजेदेखि ६:३० बजेसम्म हरेक दिन खानेपानी वितरण हुनेछ ।
२) गाग्री, बाल्टी वा जर्किन जस्ता घरेलु भाँडा वर्तनमा मात्र पानी लिन सकिने छ । तर ठूला ड्रम लगायतका भाँडामा पानी लिन पाइने छैन ।
३) पानी भर्ने ठाउँमा नुहाउने, लुगाधुने, भाँडा माझ्ने जस्ता कार्य वर्जित छ ।
४) व्यावसायिक प्रयोजनका लागि पानी लिन मनाही छ ।
५) पानी वितरण हुने स्थान: विद्यालयको पूर्वी नयाँ गेट
पहिलोप्रेस
६ जेष्ठ २०८१, आईतवार १०:२५