Loading... आजः १६ कार्तिक २०८१, शुक्रबार

आठबीसका मेयरको बढदै मनोमानी, पुरानो माईन्यूट च्यात्दै नयाँ चिप्काए

कार्यपालिका सदस्यहरु नै रुष्ट

सुर्खेत ।
दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकामा नगरप्रमूख तर्कबहादुर बडुवालको मनोमानी बढदै गईरहेको छ ।
कार्यपालिकाको वैठकले गरेको निर्णयलाई च्यातेर उनले अर्को निर्णय लेख्न लगाएपछि कार्यपालिका सदस्यहरुमै मतभेद देखिएको हो ।

दुई ओटा आर्थिक वर्षको सार्वजनिक सुनुवाई समेत गर्न नसकेको आठबीस नगरपालिकाले नागरिकका पक्षमा हालसम्म कुनैपनि काम गर्न नसकेको बरु भ्रष्टाचार र अनियमितता बढाइरहेको आरोप नेपाली काँग्रेस र नेकपा माओवादीले बारम्बार लगाउँदै आएका छन् ।

केहि महिना अघि मात्रै सार्वजनिक सुनुवाई गर्ने भनेर दैलेख र कलिकोटका पत्रकार बोलाएको नगरपालिकाले प्रमूख जिल्ला अधिकारीलाई समेत साँक्षी राखेर सार्वजनिक सुनुवाई गर्न खोजेको थियो तर सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको जवाफ नै दिन नसकेपछि फेरि सार्वजनिक सुनुवाई गर्ने भनेर स्थगित गराइएको थियो ।

सधैं विवादित बन्ने गरेको आठबीस नगरमा पछिल्लो समय गाडीको साँचो मेयर र उपमेयरबीच खोसाखोस हुँदा त्यसको मिलापत्र गराउन मुख्यमन्त्री तथा एमाले दैलेख इन्चार्ज यामलाल कंडेलले भूमिका खेलेका थिए ।

उनको त्यो मिलापत्र एक दिन पनि टिकेन । लेखापालको रुपमा कार्यरत लोकबहादुर बुढाको विषयमा फेरि विवाद मेयर र उपमेयर कल्पना थापाबीच भएको थियो ।

पछिल्लो समय२०८० साल चैत्र २१ गते बसेको ९८ औं वैठकमा प्रस्ताव नम्बर एकमा सार्वजनिक घर जग्गामा बनेका टहराहरु हटाउने निर्णय भएको थियो ।

उक्त निर्णयमा भनिएको छ, ‘यस आठबीस नगरपालिका वडा नं. ४ स्थित बाखेकोटमा रहेको कित्ता नं. ८ को सार्वजनिक स्थानमा घर निर्माण नगर्न भनि यस कार्यालयबाट प्रथम पटक ३० (तीस) दिनको, दोस्रो पटक १५ (पन्ध्र) दिनको र तेस्रो पटक ७ (सात) दिनको सूचना प्रकाशन तथा मिति २०८०।१२।०९ गते सर्वदलिय बैठक बसि उक्त स्थानमा घर निर्माण नगर्ने निर्णय गरिएकोमा उल्लेखित सूचनालाई समेत अटेर गरी हाल उक्त स्थानमा पक्की घर निर्माण भैरहेकोले उक्त सार्वजनिक जग्गामा निर्माण गरिएको घर भत्काउनको लागि ४ नं. वडा कार्यालयबाट सिफारिस गरिएकोले सम्बन्धित निकायमा आवश्यक सहयोग गरिदिनको लागि अनुरोध गर्ने निर्णय गरियो ।’

उक्त निर्णय भएको भएपनि नगरप्रमूख बडुवालले निर्णय गरिएको माइन्यूटमा अर्को निर्णय टाँसेको वडा नम्बर चारका वडाअध्यक्ष टेकबहादुर माझीले पहिलोप्रेससँग बताए ।

‘हामीले गरेको उक्त निर्णयलाई उहाँले बदल्नु भएको छ । यो भनेको उहाँको मनोमानी हो । निर्णय एउटा गर्ने, कार्यान्वयन गर्ने समयमा भने उक्त माईन्यूट च्यातेर नयाँ निर्णयहरु टाँस्ने यो काम गलत हो ।’ उनले भने, ‘सार्वजनिक महत्वको उक्त प्रस्ताव कसको इसारा र कस्तो स्वार्थमा उहाँले बदल्नुभयो, त्यसको छानविन हुन आवश्यक छ ।’
उनका अनुसार पहिले गरिएको निर्णय सार्वजनिक टहरा सम्वन्धमा भएपनि माईन्यूटमा पुरानो निर्णय च्यातेर पहिलो निर्णयमा एम्बुलेन्स सम्वन्धमा उल्लेख गरिएको छ ।

यसविषयमा नगरप्रमूख बडुवालको धारणा लिन खोज्दा आफू सुर्खेतको स्टे भ्याली भ्यू होटलमा एक कार्यक्रममा रहेको र पछि कुरा गर्ने बताए ।

 

 

हेर्नुस मेयरले च्यातेको माइन्युट !

सम्बन्धित समाचार