जातिय भेदभाव तथा छुवाछुत उन्मुलन गर्न आवश्यक छः प्रदेश प्रमूख परियार
सुर्खेत ।
कर्णाली प्रदेश प्रमूख तिलक परियारले जातिय भेदभाव तथा छुवाछुत उन्मुलन गर्न आवश्यक रहेको बताएका छन् ।
जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवरसरमा आज शुभकामना सन्देश दिदैं प्रदेश प्रमूख परियारले नेपाल यतिबेला लामो संघर्षबाट प्राप्त गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, धार्मिक, सा“स्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको बताएका छन् ।
उनले नेपालको इतिहास सिंहालोकन गर्दा वर्णाश्रम जात व्यवस्था र वि.सं.१९१० को मुलुकी ऐन नै विभेद तथा जातिय छुवाछुतको मुल आधार बनेको बताएका छन् ।
सशस्त्र युद्ध र १९ दिने शान्तिपुर्ण जनआन्दोलनले सामन्ति राजतन्त्रात्मक सत्तालाई विस्थापित गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरिदियो । नेपाल सरकारले वि.सं. २०६३ जेष्ठ २१ गते जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गर्यो तसर्थ हरेक बर्ष जेष्ठ २१ गतेलाई जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका रुपमा मनाउने गरिएको छ, प्रदेश प्रमूख परियारले उल्लेख गरेका छन् ।
विविध जातजाति र धर्म संस्कृति बीचको एकता नै हाम्रो समाजको विशेषता हो नेपालमा जातिय छुवाछुत,उत्पीडन र विभेदको अन्त्यय गर्न संवैधानिक राष्ट्रिय दलित आयोगले निरन्तर निगरानी गरिरहेको छ । जातिय तथा अन्य भेदभाव अन्त्य गर्न नेपालको संविधानको धारा २४ को (१) मा निजि तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन र धारा ४० मा दलित हक सम्बन्धि व्यवस्था गरिएको छ । जातिय भेदभाव तथा छुवाछुत राष्ट्रिय समस्या भएकोले यसलाई उन्मुलन गर्न तिनै तहका सरकार र आम सचेत नागरिकले लागु गर्नुपर्दछ, उनले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।
पहिलोप्रेस
२१ जेष्ठ २०८१, सोमबार ०७:५५