Loading... आजः ४ पुष २०८१, बिहीबार

मकै खेतिमा लागेको गवारो रोगको उपचारमा कृषि विकास कार्यालय दैलेखका प्रमूख नै आठबीसतिर प्रस्थान

 

कृषि बिकास कार्यालय दैलेख ।

दैलेख ।
दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका वडा नं. ६ मा गबारो रोग देखा परेको छ ।

मकैको गुबोमा लाग्ने यो किराले आठबीस नगरपालिकाको उक्त वडाको राँता, चौला, खड्कागडेन, पैंया, रोल लगायतका टोलका सयौं घरधुरिले लगाएको मकैमा उक्त किरा देखा परेको हो ।
मुख्य अन्नवालीको रुपमा रहेको मकै खेतिमा किरा देखापरेपछि कृषकहरु चिन्तित बनेका हुन ।

‘हाम्रालागि सबैभन्दा बढि महत्वपूर्ण अन्नवाली मकै हो । मकैमा यो किरा देखापरेपछि हामीलाई चिन्ता लागेको छ ।’ वडा नं. ६ राँता निवासी कासीराम थापाले भने, ‘सुरुमा मकै खेति लगाएका अधिकांश किसानहरुले अहिले मकै उखेलेर फाल्न थालेका छन् । मकै गोडने समयमा रोग देखापरेपछि हामीलाई समस्या भएको हो ।’

उनि मात्रै होईनन, भैरव माध्यमिक विद्यालय राँतामा शिक्षण पेशामा कार्यरत द्धारिका प्रसाद आचार्यले आज विहान मात्रै एक सय भन्दा बढी मकैको बोट उखेलेर फालेको पहिलोप्रेसलाई बताए ।

‘आज विहान मात्रै मैले एक सय भन्दा बढी मकैको बोट उखेलेर फालेको छु । मकैको गुबोमा हरियो किरा लाग्ने, पात समेत खाइदिने हुनाले मकैबाली नै सखाप हुने अवस्था सिर्जना भयो ।’ उनले भने, ‘यो वडाको लम्धार, राँता, रोल, खड्कागडेन, पैंयामा झण्डै चार सय घरधुरीले लगाएको मकै खेतिमा यो किरा देखा परेको छ । यसको निदानको लागि सरकारले पहल गरिदिएको भए राम्रो हुन्थ्यो ।’
यता, कृषि विकास कार्यालय दैलेखले विषादी लिएर आठबीस जान लागेको जनाएको छ ।
कार्यालय प्रमूख दशरथ पाण्डेले किसानलाई आइपरेको समस्या समाधानका लागि विषादी र प्राविधिक लिएर जान लागेको बताए ।
‘यहाँहरुले खबर गरेपछि हामी प्राविधिक टोलीसहित आठबीसतिर प्रस्थान गरेका छौं । यो गवारो किरा हो । यसलाई विषादी प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ । हामी किराको निदान गर्न र किसानको मुहारमा खुशी भर्न तत्पर छौं ।’ उनले पहिलोप्रेसलाई भने,’यो पहिलो वर्षातको बेला मकै लगाउँदा देखा पर्ने किरा हो । आगमी वर्ष देखि किसानलाई पहिलो वर्षातमा मकै खेति नगर्न अनुरोध गर्दछु ।’
उनले यसलाई नियन्त्रण गरेपछि उत्पादनमा कुनैपनि असर नपर्ने बताए ।’यो किरा नियन्त्रण गरिसकेपछि किसानले उत्पादनमा कमि आउँछ कि भनेर चिन्तित बन्न पर्दैन ।’ उनले भने, ‘यो किराको निदान भइसकेपछि किसानले उत्पादन पूर्ण रुपमा पाउँछन ।’

सम्बन्धित समाचार