Loading... आजः ३ पुष २०८१, बुधबार

बजेटमाथि सांसदको टिप्पणीः कर्मकाण्डी बजेट आयो, विगतकै निरन्तरता

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आज सदनमा पेश गरेको बजेटमाथि सांसदहरु विभिन्न टिप्पणी गरेका छन् ।

नेकपा एसकी सांसद कल्याणी खड्काले बजेट कर्मकाण्डी रुपमा आएको टिप्पणी गरिन ।

उनले बजेट विगतकै जस्तो आएको आरोप लगाउँदै कर्मकाण्डी जस्तो बजेट आएपनि केहि सुधारको अपेक्षा भने बजेटबाट राखेको बताईन ।
‘कर्मकाण्डी बजेट आयो, केहि राम्रा पक्षहरु पनि देखियो । बजेटको वितरण प्रणालीमा सुधार भएको देखिएको छ । विगगतमा टुक्रे योजनाको लिस्ट लामो हुन्थ्यो, नीति कार्यक्रम एकातिर बजेट अर्कोतिर हुने गरेको थियो ।’ उनी भन्छिन, ‘तर अहिले करोडौंका योजना आएका छन् , त्यसले बजेट खर्च होला, योजना सफल होलान कि भन्ने अपेक्षा छ ।’

बजेटबारेमा धेरै अध्ययन गरेको छैन, हिजोको भन्दा केहि कुरामा सुधार भएको छ ।

नेकपा माओवादीका नेता एवम पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बजेट सन्तोषजनक आएको टिप्पणी गरे । ‘जस्तो धरातल थियो त्यस्तै बजेट आयो । यहाँको सोच, यहाँको अवस्था र कर्णालीको आवश्यकताका आधारमा बजेट आएको देखिएको छ ।’ उनले भने, ‘आलोचनात्मक सर्मथन हाम्रो हुन्छ तर बजेटबारेमा अहिले नै त्यति व्याख्या गर्ने समय भइसकेको छैन । हाम्रै सरकारले आजै सदनमा बजेट पेश गरेकाले त्यसकोबारेमा समिक्षा गरौंला आजै हतार गर्नुपर्ने विषय रहेन ।’

नेपाली काँग्रेसका नेता  एवम  पूर्व आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले बजेटमा नयाँ खासै कुरा केहि नआएको दावी गरे । ‘वास्तवमा बजेट विगतकै निरन्तरताको रुपमा आएको छ । हाम्रो प्रदेशमा बजेट कार्यान्वयन नहुने रोग कायमै छ, यो सरकारले ल्याएको बजेट सफल रुपमा कार्यान्वयन होस भन्ने शुभकामना दिन चाहन्छु ।’ ‘उनले थपे, समयानुकुल बजेट खास खालको आएको छैन । पूर्वाधार, पर्यटन, रोजगारी सिर्जनमा आधारित कार्यक्रम आउने अपेक्षा थियो । केहि नयाँ कोशिसहरु भएका छन् ।’

नेकपा एमालेका नेता एवम संसदीय समितिका सभापति जीत बहादुर मल्लले बजेट सन्तोषजनक आएको बताए ।

‘बजेट संघीय सरकारले दिएको अनुदान, कर्णालीको अवस्था, यहाँको राजश्व संकलनको आधारमा बजेट सन्तोषजनक रुपमा आएको छ ।’ उनले भने, ‘यहाँका जनताको आशा अपेक्षा गर्नेखालको स्रोत प्रदेश सरकारसँग नभएपनि कर्णालीका जनताको आशा पुरा गर्ने लक्ष्यमा आधारित बजेट आएको मेरो बुझाई छ ।’

 


सम्बन्धित समाचार