कर्णालीकाे नयाँ बजेटमाथि नीजि क्षेत्रको टिप्पणीः नयाँ बोत्तलमा पुरानै रक्सी
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२का लागि प्रदेश सभामा शनिबार ३१ अर्ब ४१ करोडको बजेट पेश गरेको छ ।
उक्त बजेटबारे नीजि क्षेत्र भने रुष्ट देखिएको छ । प्रदेश सरकारको नेतृत्व कर्णालीको राजधानी वीरेन्द्रनगरबाटै मुख्यमन्त्री बनेका यामलाल कंडेल भएपनि उहाँबाट अपेक्षा गरेअनुसार नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट नआएको गुनासो नीजि क्षेत्रको छ ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले नीजि क्षेत्रका समस्या समाधान गर्नकालागि आवश्यक बजेट नआएको बताए ।
‘यो बजेटले नीजि क्षेत्रलाई समेटन सकेको जस्तो लागेन । प्रदेश स्तरीय औधोगिक क्षेत्र स्थापना गर्ने कार्यक्रम बजेटमा देखिएन । यस्तै प्रदेशमा विध्ुतको अवस्था गम्भीर छ, जसले गर्दा हामी व्यवसायीहरु मारमा परिरहेका छौं । यसबारेमा पनि बजेटले केहि सम्वोधन गर्न सकेन ।’ अध्यक्ष कंडेलले भने, ‘उद्योग कलकारखाना स्थापना गर्नेलाई रातो कार्पेटमा स्वागत गर्ने भनेपनि बजेटमा त्यस्तो केहि व्यवस्था भएन ।’
उनले उद्योग प्रतिष्ठान खोल्ने बारेमा बजेटले केहि नबोलेको गुनासो गरे ।
‘प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा कर्णालीमा पोड वे र केबुलकारको सम्भाव्यता अध्ययन गर्ने भनिएपनि बजेटमा केहि पनि आएको छैन, यो भन्ने एक गर्ने अनेक भएजस्तै भएको छ ।’ अध्यक्ष कंडेलले भने, ‘तर बजेटमा केहि राम्रा पक्षहरु पनि छन् । जस्तो कृषि क्षेत्रमा काम गर्नेलाई जग्गा खरिद गर्दा लाग्ने राजश्वमा ७५ प्रतिशत कर छुट दिने, कर्णालीमा सुर्तिजन्य बाहेकका उद्योग खोल्न जग्गा खरिद गर्न परे शत प्रतिशत राजश्व छुट दिने बजेटमा कुरा समेटिएको छ । पर्यटकीय हिसाबले महत्वपूर्ण गोठीकाँडा, रातानांग्ला, सिद्धपाईला जस्ता क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने देखि संघीय सरकारसँग हातेमालो गरेर सुर्खेत विमानस्थल विस्तार गर्ने कुरा नीजि क्षेत्रकालागि राम्रो हो ।’
उनले नीजि क्षेत्रले भोगेको आर्थिक मन्दी, बजार चलायमान बनाउन खासै योजना र बजेट नआएको गुनासो गरे ।
‘बजार चलायमान भएको खण्डमा रोजगारी सिर्जना हुने भएपनि त्यतातर्फ बजेटले केहि पनि सम्वोधन गर्न सकेन । जसले गर्दा रोजगारी सिर्जना हुने अवस्था न्यून देखिएको छ’, उनले भने ।
सुर्खेत चेम्बर अफ कर्मशका अध्यक्ष एवम व्यवसायी चिन्तामणि शर्माले नयाँ बजेट नयाँ बोत्तलमा पुरानै रक्सीकै शैलिमा आएको बताएका छन् ।
‘कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पनि नयाँ बोटलमा पुरानै रक्सी जस्तो देखियो, दिल पनि जितेन । हामीले अपेक्षा गरेको युवा पुस्तामा देखिएको चरम निराशालाई सम्वोधन गर्नेखाले कुनैपनि कार्यक्रम यो बजेटमा देखिएन । ३१ अर्व बढिको बजेटमा नयाँपन आएन ।’ अध्यक्ष शर्माले टिप्पणी गरेका छन, विकास भनेको भौतिक पूर्वाधार मात्रै हो, मानवीय विकास हुँदै होईन भन्ने पूर्ववर्ती मान्यतामा सुधार हुन सकेन । यो सरकारको काम पनि बिहान उठ्नुपर्छ र रात परेपछि सुत्न जाति भन्ने बाल बुझाई जस्तो देखियो । मृगौलालगायतका रोगहरुबाट पीडित र प्रत्यारोपण गरेकाहरुको पुनःस्थापनको कुनैपनि कार्यक्रम देखिएन । प्रदेश अस्पताललाई ठूला रोगहरुको उपचार गर्ने केन्द्रकोरुपमा विकास गर्ने कुनै योजना छैन । मात्र नाम लेखेको पैसाबाट व्यवस्थापन खर्च उठाउने र सरकारी कोषवाट चिकित्सकको तलवभत्ता खुवाउने क्रमागत अवधारणा यो सरकारको पनि देखियो ।’
उनले पर्यटन क्षेत्रको विकास कसरी गर्ने भन्ने बारेमा बजेटले केहि बोल्न नसकेको बताए ।
‘पर्यटनको विकास कसरी गर्ने भन्ने स्पष्ट योजना छैन । केही व्यक्तिहरुले काठमाडौंमा बसेर कपीपेष्ट गरेको गुरुयोजनाले कर्णालीको पर्यटन विकास भैहाल्छ भन्ने रोगी मानसिकताले काम गरेको देखियो । कर्णालीमा कसरी पर्यटकहरु ल्याउने भन्ने स्पष्ट आधार र प्रमाण केही छैन ।’ उनले भने, ‘कृषि विकासको स्पष्ट आधार छैन । कर्णाली प्रदेशमा यति क्षेत्रलाई फलफूल र तरकारीको हब बनाउने भन्ने स्पष्ट योजना छैन । गाउँगाउँमा कसरी प्राविधिक पु¥याउने योजना छैन ।’
उनले कम्युनिष्टको सरकार भएपनि सर्वहारा, श्रमजीवि वर्गको पक्षमा बजेट नआएको निष्कर्ष निकाले । ‘समग्र बजेट हेर्दा कर्मचारीहरुले परम्परागत हिसाबले तयार गरेको व्यालेन्स सिटमा सरकारका मन्त्रीहरुले एक साँझ बसेर फिडव्याक मात्रै दिएको जस्तो छ । कम्युनिस्ट सरकारले जनतालाई देखाउनु पर्ने क्रान्तिकारी अनुहार (कार्लमाक्स) कालो माक्सले छोपेर हिडेजस्तो देखियो । जनजीविकाका सवालहरुमा सरकार मौन छ । प्रगतिशील कार्यक्रम एउटा पनि छैन ।’ उनले भने, ‘तरपनि, यो बजेटमा मुख्यमन्त्रीले आफ्ना केही खास योजनाहरु राख्न भने सफल हुनुभएको छ । खासगरी सुर्खेत विमानस्थल, सिंहदरवार मोडेलको कर्णालीका मन्त्रालय÷ सरकारी कार्यालयलाई घेरवार, उपत्यकाको ढल व्यवस्था आदि छन् । कम्युनिस्ट सरकारले ल्याएको यो बजेटलाई १० पूर्णाङ्कमा ३.२ (पुरानो एसएलसीको पासमार्क ३२) नंवर दिन चाहन्छु ।’
पहिलोप्रेस
२ असार २०८१, आईतवार ०८:१०