Loading... आजः ४ पुष २०८१, बिहीबार

मुख्यमन्त्री रोजगार कार्यक्रमबाट निर्मित वडा कार्यालयको आज उद्घाटन गरिँदै

गायिका अन्जु विकले प्रस्तुति दिने, शतप्रतिशत भर्ना सुनिश्चित वडा घोषणा गरिने

सुर्खेत । दैलेखको आठबीस नगरपालिका वडा नं ६ को वडा कार्यालयको आज उदघाटन गरिने भएको छ । झण्डै ५५ लाखमा तयार भएको वडा कार्यालयमा दुई ओटा सचिवको कार्यकक्ष, एक अध्यक्षको कार्यकक्ष र एक सभा हल निर्माण गरिएको वडा सचिव वखत विश्वकर्माले बताए ।

उनका अनुसार, यो सबै बजेट मुख्यमन्त्री रोजगकार कार्यक्रममार्फत वडामा आएको हो ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्र्तगत २०७८ सालमा ४० लाख पाएको यस वडा कार्यालयले २०७९ सालमा थप १५ लाख रुपैंया बजेट पाएको थियो ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ठूला संरचना निर्माण गर्न नसकिने भनिँदै आएकोमा वडा कार्यालय नै तयार भएपछि स्थानीयहरु उत्साहित बनेका छन् ।

वडा कार्यालय निर्माण भएपनि जंगलको विचमा रहेका कारण असुरक्षित रहेको वडा अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

‘यसपटक प्रदेश सरकारबाट वडा कार्यालयको भवनका लागि घेरवार प्रदेश सरकारबाट बजेट विनियोजित गराईदिन वडा कार्यालयबाट सिफारिस सहित म आफैं पुगेको थिएँ, तर कतै सुनुवाई भएन ।’ उनले गुनासो गरे, ‘जंगलको विचमा चार रोपनी भन्दा बढी क्षेत्रफलमा वडा कार्यालय निर्माण गरेका छौं, वरिपरिबस्ती छैन, रमाईलो डाँडामा सबै वडावासीलाई पायक पर्नेगरि वडा कार्यालय निर्माण त गरियो तर सुरक्षाका हिसाबले भने उच्च जोखि बन्न पुगेको छ ।’

वडा कार्यालयको उदघाटन गर्न आज जिल्ला समन्वय समिती दैलेखका प्रमुख नमराज शाही,आठबीस नगरप्रमूख तर्क बडुवाल, उपप्रमूख कल्पना थापा, पूर्व नगरप्रमुख खड्गराज उपाध्याय, पूर्व उपप्रमूख दिपा बेहोरा, नौ वटै वडाका वडा अध्यक्षहरु, स्थानीयवासीको सहभागिता रहने बताइएको छ ।

यसैबीच आज हुने उदघाटन कार्यक्रममा पछिल्लो चरण चर्चामा रहेकी नवगायिका अन्जु विकले दमदार प्रस्तुति दिने वडासचिव विकले बताए ।
यसैबीच आज ६ नम्बर वडालाई पाँच देखि १२ वर्ष उमेर समूहका बालबालिका शतप्रतिशत भर्ना सुनिश्चित वडा घोषणासमेत गरिने भएको छ ।

 


सम्बन्धित समाचार