Loading... आजः २४ भाद्र २०८१, सोमबार

कर्णाली सरकारमा सहभागी माओवादीका चार मन्त्रीले सोमबार राजीनामा दिदैँ

संघीयता कार्यान्वयनको सात वर्षपछि माओवादी प्रमूख प्रतिपक्षमा
नेकपा माओवादी संसदीय दलको वैठकमा सहभागी सांसदहरु, तस्वीरः फाइल फोटो ।

सुर्खेत । केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै चैत २७ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता यामलाल कंडेल नेतृत्वको सरकारबाट भोली साउन ७ गते सोमबार नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ ।

आइतबार पहिलोप्रेसले कर्णाली सत्तामा किन टाँसिँदैछ माओवादी ? शीर्षकमा समाचारसमेत प्रकाशित गरेको थियो ।

सोमबार विहान मुख्यमन्त्री यामलाल कँडेललाई नेकपा माओवादीबाट मन्त्री बनेका चार जना मन्त्रीले सामूहिक राजीनामा दिने निश्चित भएको माओवादी स्रोतले जनाएको छ ।

यद्यपी आजै दिउँसो साढे दुई बजे माओवादी मन्त्रीहरुले राजीनामा दिने भनेर मुख्यमन्त्री कंडेललाई जानकारी गराएपनि सर्मथन फिर्ता र राजीनामा एकैपटक दिने निर्णय माओवादीले गरेका कारण राजीनामा दिने कार्य भोली विहानलाई सरेको हो ।

माओवादी सरकारबाट बाहिरिने निश्चित भएएसँगै कर्णालीमा नयाँ गठबन्धन निर्माणको बाटो खुल्ने भएको हो ।

माओबादी केन्द्रबाट चार जना मन्त्रीहरु बैशाख १८ गते सरकारमा सहभागी भएका थिए ।

असार १७ गते केन्द्रमा काँग्रेस र एमालेबीचमा सत्ता गठबन्धन गर्ने सहमति अनुरुप केपि शर्मा ओलीले आज प्रधानमन्त्रीको रुपमा विश्वासको मतसमेत लिएका छन् ।

हनिमुन पिरियडकै समयमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले मुख्यमन्त्री सामू राजीनामा दिन लागेका हुन ।

यसैबीच, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले आफू मुख्यमन्त्री रहेकै अवस्थामा कर्णालीमा सहमतिको सरकार बनाएर जाऔं भन्दा नमानेको बताए ।

उनले भने, “मैले हिजो मुख्यमन्त्री हुँदा पनि केन्द्र भन्दा संघीयतालाई कार्यान्वयन गरेर माथिबाट थोपर्ने कार्यको प्रतिकार गरौं भनेर उहाँलाई भनेको थिएँ ।“ उनले भने, “त्यसबेला पनि कंडेल जि ले मान्नु भएन । अहिले पनि सबै दल मिलेर कर्णालीको विकास गर्ने सवालमा सहमतिको सरकार बनाएर जाऔं, नेतृत्व तपाई नै गर्नुहोस भनेर भनेको थिएँ, उहाँले मान्नु भएन ।“

पूर्व मुख्यमन्त्री शर्माले सरकारलाई दिएको सर्मथन फिर्ताको पत्र आज ढिला भएकाले नपठाइएको बताउँदै सकेसम्म सोमबार नै पत्र दिने र आफूहरु शसक्त प्रतिपक्षमा बस्ने बताए ।

यो सँगै संघीयता स्थापना भएपछिको सात वर्षमा पहिलोपटक नेकपा माओवादी केन्द्र प्रमूख प्रतिपक्षी दलको वेन्चमा बस्ने भएको छ ।

कर्णाली प्रदेश सभामा चालीस सदस्य रहेकोमा नेपाली काँग्रेसका संसदीय दलका नेता निलम्वनमा छन् । काँग्रेससँग वाँकी १४ सांसद छन भने माओवादी केन्द्रसँग १३ सांसद छन् । यस्तै एमालेसँग सभामुख बाहेक ९ सांसद हुँदा राप्रपा र नेकपा एससँग एक एक जना सांसद छन् ।

प्रदेश सभामा बहुमत पुर्याउन २० सांसदको आवश्यकता पर्छ । एमाले र काँग्रेस मात्रै मिल्दा पनि सांसदको संख्या २५ पुग्छ । यो बहुमत संख्या भन्दा धेरै हो ।