Loading... आजः २९ कार्तिक २०८२, शनिबार

धमाधम रुग्ण ठेक्का तोडिँदैछन कर्णालीमा


सुर्खेत । संघीय सरकारले कर्णालीमा रहेका रुग्ण ठेक्का तोडने प्रक्रिया सुरु गरेको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले जिल्लाभित्रका सात वटा रुग्ण ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको हो ।

कार्यालयले कात्तिक ९ गते १५ दिने सूचना जारी गर्दै २३ गतेभित्र ठेक्का अन्त्य गर्न नपर्ने उचित कारण भए कारणसहित उपस्थित हुन निर्देशन दिएको थियो । तर १३ गतेसम्म एक जना मात्रै निर्माण व्यवसायीले स्पष्टीकरण बुझाएको डिभिजनले जनाएको छ ।

डिभिजनले चार वटा पुल र तीन वटा सडक आयोजनाको ठेक्का तोड्ने तयारी गरेको हो ।

ती ठेक्का २०७३/०७४ देखि २०८०/०८१ बीच लगाइएका थिए । सम्झौताअनुसार काम नगरेका कारण एडभेन्चर जेभी बाँके, जयबुद्ध–नोल मेगा बिल्डर्स जेभी सुर्खेत, कन्काई–गणपति जेभी काठमाडौं, टिडीआर कन्स्ट्रक्सन धनगढी, काष्ठमण्डप कन्स्ट्रक्सन काठमाडौं, नान्जिला एण्ड आकांक्षा मजदुर जेभी सुर्खेत र रक्षलक्ष्मी कन्स्ट्रक्सन दैलेख का ठेक्का तोडिँदै छन् । यी कम्पनीले सुर्खेत र दैलेखका विभिन्न क्षेत्रमा पुल तथा सडक निर्माणका लागि ठेक्का लिएका थिए, तर तोकिएको समयभित्र काम सम्पन्न गर्न सकेनन् ।

सडक डिभिजन कार्यालय जुम्लाले पनि कर्णाली राजमार्गअन्तर्गतका पाँच रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार कालीकोट सडकखण्डका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एउटा ठेक्का तोड्ने तयारी भइरहेको छ ।

ठेक्का सम्झौता आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मका हुन् । पटक–पटक ताकेता गर्दा पनि काम नहुँदा कानुनी प्रक्रिया अघि बढाइएको चौधरीले बताए । सूचना प्रकाशित भएको १५ दिनभित्र संशोधित कार्यतालिका र स्रोतसाधन परिचालनको ठोस योजना लिएर उपस्थित हुन भनिएको छ । समयमै काम सुरु नगरे कालोसूचीमा राख्ने र धरौटी जफत गर्ने चेतावनी दिइएको छ ।