राजनीतिक ‘उथलपुथल’ नभए माओवादीका तीन सांसद मन्त्री नबन्ने
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै माओवादीका तीन सांसदले अब मन्त्री बन्न पाउने सम्भावना करिब समाप्त भएको छ ।
कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा एक उपसभामुख, एक मुख्यमन्त्री र ९ मन्त्री र एक गैरसांसदलाई मन्त्री बनाएको माओवादीले प्रदेश सभाको दोश्रो कार्यकालमा १३ सांसद मध्ये एकलाई मुख्यमन्त्री, एक सांसदलाई उपसभामुख र आठ जनालाई मन्त्री बनाइसकेको छ ।
तत्कालित मुख्यमन्त्री राजकुमार शर्माको अवधीमा भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रीमा मंगल शाही, आन्तरिक मामिला तथा कानून मन्त्रीमा कृष्ण जिसि, उर्जा तथा जलस्रोत मन्त्रीमा उर्मिला विश्वकर्मा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा भिम प्रकाश शर्मा मन्त्री भएका थिए ।
उनिहरु मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सभामा राजीनामा दिएसँगै पदमुक्त बनेका थिए । यस्तै, नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भए ।
उनि नेतृत्वको सरकारमा नेकपा माओवादीले चार ओटा महत्वपूर्ण मन्त्रालय लिएर चार जना सांसदलाई मन्त्रीमा पठाएको थियो । जसमा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसि, उर्जा मन्त्रीमा रणसिंह परियार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्ग रावत र सामाजिक विकास मन्त्रीमा विरबहादुर शाही वैशाख १८ गते मन्त्रीमा नियुक्त भएका थिए ।
कुल १३ सदस्यीय संसदीय दलमा उपसभामुखको रुपमा यशोदा न्यौपाने छिन् ।
प्रदेश सभाको दोश्रो कार्यकालमा अब मन्त्री हुन बाँकी रहेका मध्ये अघिल्लो कार्यकालमा झण्डै आठ महिना मन्त्री बनेका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट, मिलन खड्का, जुम्कित लामा मात्रै बाँकी रहेका छन् ।
यदि राजनीतिमा कुनै उथुलपुथल नभई एमाले काँग्रेस नेतृत्वको गठबन्धन कायमै रहेको खण्डमा यी तिन जना मन्त्री हुन नपाउने निश्चित भएको छ । खड्का अहिले दलको सचेतकको भूमिकामा छिन ।
खड्का र लामा बाहेक अन्य सबैले मन्त्री पदको स्वाद चाखिसकेका छन् ।
पहिलोप्रेस
७ श्रावण २०८१, सोमबार १८:०२