मन्त्रीबाट राजीनामा दिएकै दिन मन्त्री परियार र रावतले क्वाटर छोडे
सुर्खेत । नेकपा माओवादीबाट मन्त्री बनेका चार जना मध्ये दुई जनाले आजै मन्त्री निवास छोडेका छन् ।
मुख्यमन्त्री यामलाल कंडेलसामु आज विहान राजीनामा बुझाएका जलस्रोत तथा उर्जा विकास मन्त्री रणसिंह परियारले दिउसो एक बजे नै निवास छोडेका छन् । उनले सरकारी गाडीसहित अन्य सबै सरकारी सामानहरु मन्त्रालयको जिम्मा पनि दिएका छन् ।
‘म आज दिउसो नै क्वाट् छोडेर कोठामा आइसकेको छु ।’ निवर्तमान मन्त्री परियारले भने, ”कम्तिमा आफूबाटै सुशासन कायम गर्नुपर्छ भन्ने मान्यताका साथ राजीनामा लगत्तै मैले क्वाटर खाली गरिदिएको हुँ ।’
यस्तै, अर्का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले हिजो आइतबार नै मन्त्री क्वाटर छोडेर डेरा सरेका छन् । उनले आज गाडीसहितका अन्य सामाग्रीहरु मन्त्रालयमा बुझाएका छन् ।
विगतमा मन्त्रीबाट विदा भएको एक महिनासम्म पनि मन्त्रालयका सामान नबुझाउने, समयमै क्वाटर नछोडने प्रचलन केहि मन्त्रीहरुले गर्दै आइरहेका थिए ।
उसो त मन्त्रीबाट विदाई भएका निवर्तमान मन्त्रीहरुलाई एक सातासम्म मन्त्री निवासमै बस्न मिल्ने सुविधा छ । त्यो सुविधा भनेको कोठा व्यवस्थापनका लागि नै हो ।
दुई मन्त्रीले आजै निवास छोडेसँगै दुवै जनाले सरकारी सम्पतीको दोहन गर्ने परम्परालाई तोडेका हुन ।
बाँकी दुई मन्त्रीले पनि मंगलबार वा बुधबारसम्म मन्त्री निवास खाली गर्ने भएका छन् ।
कोठा खोजिरहेका छौं, कोठा मिल्ने वित्तिकै हामी निवास खाली गर्छौं । त्यो भनेको बढीमा बुधबार हो, निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसिले बताए ।
पहिलोप्रेस
७ श्रावण २०८१, सोमबार १९:५३