Loading... आजः २५ भाद्र २०८१, मंगलवार

 कर्णाली प्रदेश प्राप्तिमा शहिद भएका परिवारलाई प्रदेश सरकारले रोजगारी दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा ज्यान गुमाएका चार जना शहिदहरुका परिवारलाई चालु आर्थिक वर्षमा रोजगारी दिने भएको छ ।

प्रदेश स्थापनाको नवौं स्थापना दिवसको अवसर पारि आज विहान गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री यामलाल कंडेलले सो घोषणा गरेका हुन ।

उनका अनुसार कर्णाली प्रदेश स्थापना आन्दोलनका क्रममा ज्यान गुमाएका ४ जनाको तस्वीर प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा अनिवार्य रुपमा राखिने भएको छ । भदौ २ गते बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका गोपालसिंह रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए । मन्त्रिपरिषद्ले उनीहरुको परिवारका १÷१ जनालाई रोजगार उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।

स्थापना दिवसका असवरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समीक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘जनताको चाहना र शहीदको सपनालाई कति पूरा गरियो भनेर तीन तहका निर्वाचित जनप्रतिनिधिहरूले समीक्षा गर्नुपर्ने बेला आएको छ,’ उनले भने ।