Loading... आजः २२ भाद्र २०८१, शनिबार

दशौं खेलकुदमा कर्णालीलाई कमजोर देखाउन खेलकुदमन्त्री चाैधरीको चलखेल

कर्णालीले खेलकुद आयोजना गर्न नसकेको देखाउने अन्तिम प्रयास

सुर्खेत । कर्णाली प्रदेशको वीरेन्द्रनगरमा मंसिर दुई गतेदेखि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुने तरखरमा छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको भदौं पाँच गते वीरेन्द्रनगर भ्रमणको मुख्य सन्देश नै कर्णालीले खेलकुद प्रतियोगिता आयोजना गर्न सक्दैन भन्ने देखाउनु नै रहेको उनको गतिविधिले प्रष्ट पारेको छ ।

कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिकामा प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा निर्माण गरिरहेको रंगशाला निर्माणको अन्तिम चरणमा छ । यो रंगशालामा मात्रै १६ ओटा खेल खेलाउन सकिने कर्णाली खेलकुद परिषदले बताउँदै आएको छ ।

यो परिप्रेक्ष्यमा मन्त्री चौधरीले कर्णालीमा खेलकुद संरचनाको तयारीका बारेमा भदौ २० गते निर्णय लिने भन्दै खेलकुद प्रतियोगितालाई नै अन्यौलमा पारिदिएका छन् ।

यतिसम्म कि मन्त्री चौधरीले आफूलाई दैनिक रिर्पोट गर्न भनेर इन्जिनियर प्रभात बडाललाई सोमबार देखि रंगशालामा खटाएका छन् ।

उनको काम भनेको दैनिक रुपमा मन्त्री चौधरीलाई पूर्वाधार तयारीको बारेमा रिर्पोट गर्नु नै हो ।

उता, मंसिर दुई गते आउन सय दिन भन्दा पनि कम छ । यहि २० गते मन्त्री चौधरीले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्ने भनेर निर्णय गरे भनेपनि त्यो समय अभाव हुने निश्चित छ ।

किनकी, खेलाडीलाई आवश्यक सामाग्री, खेलकुद सामाग्री खरिदका लागि ठेक्का आव्हान गर्नुपर्ने हुन्छ, त्यसकालागि कम्तिमा ६० देखि ६५ दिन लाग्ने गर्दछ । त्यसो हुँदा मंसिर २० गतेबाट मंसिर दुई गते आउन जम्मा ७० दिन मात्रै वाँकी रहन्छ । वाँकी पाँच दिनमा प्रतियोगिता आयोजना गर्न मुस्किल हुने र सोही आधारमा कर्णालीले खेलेकुद प्रतियोगिताको आयोजना गर्न नसक्ने भनेर मिति सार्ने वा खेलकुद प्रतियोगितालाई अन्यत्र आयोजना गर्ने भनेर निर्णय गर्ने सम्भावना बढदै गएको स्रोतको दावी छ ।

त्यसैमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले समेत घ्यू थपिदिएपछि संघीय मन्त्रीलाई प्रतियोगिता सार्न वा कर्णालीमा आयोजना नगर्न बल मिलेको बताइएको छ ।