Loading... आजः २२ आश्विन २०८१, मंगलवार

नेकपा एसबाट एमालेमा आएका योगी र विशुन्खेको पद ‘घटुवा’, दुवैलाई प्रदेश कमिटिमा थन्क्याइयो


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटिको पूर्ण वैठकले नेकपा एकीकृत समाजवादीबाट एमालेमा गत फागुनमा प्रवेश गरेका दुई जनाको पद ‘घटुवा’ गरेको छ ।

फागुन १८ गते नेकपा एमाले दैलेखका अध्यक्ष सुर्यबहादुर शाही र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यद्वय बरुनाथ योगी र पार्वती विशुन्खेबीच भएको सहमति विपरित दुवै जनालाई प्रदेश कमिटि सदस्यमा थन्क्याइएको हो ।

उक्त सहमति पत्रमा नेकपा एसमा रहँदाकै पदमा मनोनित गर्न पहल गर्ने सहमति गरिएको भएपनि हाल दुवैलाई प्रदेश कमिटिमा थन्क्याईदा दुवै जना रुष्ट बनेका छन् ।

अनेमसंघकी केन्द्रीय सचिव, पूर्व प्रतिनिधि सभा सदस्य एवम नेकपा एसकी केन्द्रीय सदस्य समेत रहेकी विशुन्खे र केन्द्रीय सदस्य रहेका योगीलाई पछिल्लो समयमा बधाईको ओइरोसमेत आउन थालेको तर ‘बाध्य’ भएर दुवैले शुभचिन्तकलाई धन्यवाद दिन थालेको बताइएको छ ।

‘उहाँहरुले हामीलाई केन्द्रीय सदस्य दिने भनेर सहमति गर्नु भएको हो तर प्रदेश कमिटिमा सदस्यको रुपमा ल्याएर अपमान महसुस भएको बताउनु भएको छ ।’ योगी निकट एक कार्यकर्ताले पहिलोप्रेससँग भने, ‘अब शपथ लिने कि नलिने भन्नेमा उहाँ हुनुहुन्छ, तर एमाले निकटका कार्यकर्ताले उहाँलाई अब पार्टी भित्रै संघर्ष गरेर जान निरन्तर सुझाव दिईरहेका छन् ।’

उनका अनुसार, एमाले बनाउन मात्र नभई यो व्यवस्था ल्याउन धेरै ठूलो संघर्ष गरेपनि पार्टीले कहिल्यै मूल्यांकन नगरेको गुनासो समेत गर्दै आएका छन ।

यता, एमाले जिल्ला कमिटि दैलेखका अध्यक्ष सुर्यबहादुर शाहीले उहाँहरु दुवैजनालाई केन्द्रीय सदस्य बनाउन धेरै प्रयत्न गरिएको भएपनि सफल नभएकाले प्रदेश कमिटिमा जिम्मेवारी दिइएको बताए ।

‘उहाँहरुलाई घटुवार बढूवा गरेको भन्ने होईन, थन्क्याइएको भन्ने होईन, जिम्मेवारी दिइएको हो । उहाँहरुलाई केन्द्रीय कमिटिमा लैजान पहल गर्ने प्रयत्न गरियो । पार्टीको नीति, विधि छ, त्यसैका आधारमा उहाँलाई केन्द्रमा लैजान सकिएन ।’ उनले भने, ‘यद्यपी उहाँहरुलाई प्रदेश कमिटि सदस्यमा राखौं की के गरौं भनेर कुरा गरिएको हो, उहाँहरुको सहमतिमै प्रदेश कमिटिको जिम्मेवारी दिइएको हो ।’


सम्बन्धित समाचार