Loading... आजः १६ कार्तिक २०८१, शुक्रबार

नेता बन्ने हठ त्याग्न विशेषज्ञ डाक्टरलाई मन्त्री भण्डारीको चेतावनी

हरेक दिन फेसबुकमा स्वास्थ्य सन्देश प्रवाह गर्ने स्वास्थ्यकर्मीलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सबै स्वास्थ्यकर्मीलाई दैनिक रुपमा स्वास्थ्यसम्वन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष २०८०÷८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीको समापन सत्रलाई सम्वोधन गर्दै मन्त्री भण्डारीले विशेषज्ञ चिकित्सकहरुलाई नेता बन्ने हठ त्याग्न निर्देशन समेत दिएका छन् ।

‘विशेषज्ञ डाक्टरको काम उच्च स्तरीय स्वास्थ्यसेवा प्रवाह गर्नु हो ।’ चेतावनीयुक्त भाषमा सम्वोधन गर्दै उनले भने, ‘नेता बन्ने हठ त्यागेकै राम्रो हो । यसमा ख्याल गर्नुहोला ।’

पोषण अभियानमा कुरिलो र मोरिंगाको खेतीमा नागरिकलाई जोड्नुपर्ने बताउँदै उनले त्यसका लागि साझेदार निकायले सहयोग गरी अभियानका रूपमा लिनु उपयुक्त हुने बताए ।

मन्त्री भण्डारीले मानसिक स्वास्थ्य समस्यालाई समाधान गर्न अभियानका रूपमा सकारात्मक सोच वृद्धिका लागि काम गर्न स्वास्थ्यकर्मीलाई अनुरोध गरे ।

जनशक्ति व्यवस्थापनका लागि कर्णाली मोडेलको ओएनएम गर्ने दाबी गर्दै स्वास्थ्य र जनस्वास्थ्य लाई छुट्टाछुट्टै गरी कार्यसम्पादनमा सहज बनाउनुपर्ने बताए ।

पालिकास्तरमा आधारभूत आयुर्वेद सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै परम्परागत वैद्यहरुले दिने सेवा प्रभावकारी भइरहेको अवस्थालाई ध्यानमा राखी आफ्नो सेवालाई गुणस्तरिय बनाउन उनले सुझाव समेत दिए ।

यसैबीच कार्यक्रममा स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको थियो ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, प्रदेश आयुर्वेद केन्द्र तथा अनुसन्धान केन्द्र सुर्खेतका डा. शंकर रिजाललाई मन्त्रालयले सम्मान गरेको हो ।

यस्तै, उत्कृष्ठ कार्य गरेको भन्दै स्वास्थ्य सेवा कार्यालय जुम्ला, डोल्पा, हुम्ला र सुर्खेत सम्मानित भएका हुन ।

 


सम्बन्धित समाचार