‘राज्यले खेलाडी बन्दै हामीलाई मैदान बनायो’
सुर्खेत । वेपत्ता पारिएका व्यक्तिहरुका आफन्तको न्यायका लागि भन्दै राज्यद्धारा कार्यान्वयनमा ल्याएको ऐन तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने वेपत्ता पारिएका नागरिकका आफन्तले माग गरेका छन् ।
आज सहकर्मी समाज सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको वेपत्ता पारिएका व्यत्तिःको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन २०७१को विषयमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले तत्काल राज्यले ऐनलाई कार्यान्वयन गरि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका हुन ।
वीरेन्द्रनगर २ की मायादेवि हमालले आफ्नो कान्छो भाई लोकेन्द्र हमाल वेपत्ता भएको वर्षाैं पुग्दा पनि न लाश पाइएको न श्सास पाइएको बताउँदै राज्यले धेरै ढिलाई गर्दा समस्या सिर्जना भएको बताईन । २०५७ सालमा आफ्नो भाई बेपत्ता बनाइएको बताउँदै तत्काल राज्यले खोजविन गरिदिनुपर्ने उनको माग छ ।
वीरेन्द्रनगर ८ की शान्ति ढकालले राज्यले पीडितहरुलाई मैदान बनाएको आरोप लगाईन ।
यहाँ हामी पीडितहरुलाई मैदान बनाइएको छ । मैदानमा आएर राज्य सञ्चालकहरुले मनलाग्दी तरिकाले खेल (राजनीतिक) खेलिरहेका छन, हामीलाई आश्वासन दिइरहेका छन, तर हाम्रो मागको बारेमा कोही जिम्मेवार बनेका छैनन । हामीलाई पीडाबाट उन्मुक्ति दिने प्रयास कसैले गरेका छैनन् । अब बन्ने समितिमा पीडित पक्षबाटै नियुक्त दिन आवश्यक छ । त्यसो भएमा मात्र हामीले न्याय पाउन सक्छौं, उनले भनिन् ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले ऐन संशोधन भएर आइसकेपछि पनि बहस र पैरवी गर्न छोडन नहुने धारणा राखे ।
राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशका सूचना अधिकारी मानबहादुर कार्कीले वेपत्ता पारिएका नागरिकहरुका बारेमा आयोगले सरकारलाई बारम्बार घच्घच्याईरहेको र आगामी दिनमा पनि यो प्रक्रिया जारी राख्ने बताए ।
मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक कमल लम्सालले राज्यलाई अधिकार प्राप्तिका लागि निरन्तर दवाव दिइराख्नु पर्नेमा जोड दिए ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पिताम्बर ढकालले कानूनमा भएका व्यवस्थालाई तत्काल कार्यान्वयनमा लैजान नागरिक समाजका तर्फबाट आफूहरु पीडित पक्षसँगै रहने बताए । उनले आगामी दिनमा पनि वेपत्ता नागरिकका परिवारका पक्षमा बहस गर्ने, पैरवी गर्ने कार्य आफूहरुले गरिराख्ने बताए ।
पहिलोप्रेस
१६ पुष २०८१, मंगलवार १८:२५