“मिलाएर” वन सक्ने परिपाटीले वन क्षेत्र घट्दैछ: मुख्यमन्त्री कंडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले वन क्षेत्र निरन्तर कम हुँदै गएको बताउँदै वन क्षेत्रलाई मिलाएर सक्ने परिपाटीको अन्त्य गर्न आवश्यक भएको बताएका छन् ।
डिभिजन वन कार्यालय सुर्खेतले राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आयोजना गरिएको वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री कंडेलले हरेक वर्ष वृक्षारोपण गर्ने, राज्यको अबौं पैसा लगानी हुने तर वन क्षेत्र भने निरन्तर घटदै जाने गरेको बताए ।
‘वन क्षेत्रको संरक्षण, वृक्षारोपण जस्ता कार्यमा राज्यले वर्षेनी लगानी गर्दै आइरहेको छ । तर वन क्षेत्र बढनुको साटो झन घटदै गइरहेको अवस्था छ ।’ मुख्यमन्त्री कंडेलले भने, ‘पछिल्लो समयमा सेटिंग गर्दै मिलाएर वन सक्ने प्रचलन हावी भइरहेको छ । यसलाई रोक्नुपर्छ ।’
मुख्यमन्त्री कंडेलले वृक्षारोपण गर्ने तर रेखदेख नगर्ने, संरक्षणमा सरोकारवाला पक्षले वास्ता नगर्ने चलन हटाउँदै रोपेका विरुवा जगेर्ना गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कंडेलले कर्णालीको विकास र समृद्धिका लागि वन क्षेत्र महत्वपूर्ण भएको भएपनि वन क्षेत्रको भरपुर सदुपयोग भने हुन नसकेको बताए ।
आयआर्जनको मुख्य स्रोत वन क्षेत्र हो । यहाँ वनमा काठहरु सडेर, गलेर खेर गइरहेको अवस्था छ । त्यस्ता काठलाई नेपालको कानूनको पालना गरेर भरपुर प्रयोग गर्न सक्नुपर्छ । त्यसो भएको खण्डमा त्यसले कर्णालीलाई ठूलो लाभ हुनसक्छ, मुख्यमन्त्री कंडेलले भने ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मन्त्रालयले वन क्षेत्रको वृद्धि गर्न विभिन्न कार्यक्रमहरु ल्याइरहेको बताए । उनले त्यहि कार्यक्रम अन्र्तगत सुर्खेतमा यो वर्ष साढे तीन लाख विरुवा रोप्ने तयारी भएको जानकारी दिए ।
डिभिजन प्रमूख वसन्त श्रेष्ठले अहिले रोपिएका वेर्नाहरुलाई रेखदेख गर्ने कार्य निरन्तर गरिने बताए ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षा निकायका प्रमूखहरु, वीरेन्द्रनगर नपा वडा नम्बर सातका वडाअध्यक्ष तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
पहिलोप्रेस
१४ असार २०८२, शनिबार ०८:५२