वडा कार्यालय प्रकरणमा भद्द्द्दा राजनीतिः स्थानीयको खानेपानीका लाईन काटिँदा खानेपानीको हाहाकार, लाचार बन्यो आठबीस सरकार !
सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको वडा नम्बर नौ को अस्थायी वडा कार्यालय सारिएपछि स्थानीयहरुबीच विवाद उग्र हुन थालेको छ ।
साविक सिंहासैन गाउँ विकास समितिको वडा नम्बर एक, दुई र चार नम्बर मिलाएर निर्माण गरिएको उक्त वडामा २०७४ सालदेखि नै अस्थायी वडा कार्यालय भनेर स्थानीय बजार दहबाट काम गरिँदै आइएको थियो ।
उक्त वडा कार्यालय अपायक परेको भन्दै साविकको वडा नम्बर एक, दुइ र चारका बासिन्दाले नगरपालिकामा निवदेन दिएको भएपनि नगरकार्यपालिकाले हालसम्म पनि कुनैपनि निर्णय गर्न सकेको थिएन ।
झण्डै १५० घर धुरी रहेको वडा नम्बर दुईलाई पायक परेको तर तीन सयभन्दा बढी घरधुरीका लागि वडा कार्यालय अपायक परेको भन्दै तल्लो ग्रामीण भेगका नागरिकले साविकको वडा नम्बर ४ मा वडा कार्यालय सार्नुपर्ने माग गरेका थिए ।
२०७४ सालमा नयाँ निर्वाचित जनप्रतिनिधि आएपछि वडा कार्यालय कहाँ बनाउने भन्ने बारेमा एक समिति समेत गठन भएको थियो । उक्त समितिले निर्णय गर्न भने सकेन । अर्थात वडा कार्यालयलाई आवश्यक पर्ने जग्गा उपलब्ध हुन नसकेपछि वडा कार्यालय निर्माणको योजना अलपत्र परेको थियो । सोही कारण स्थानीय दह बजारमा अस्थायी वडा कार्यालय मासिक पाँच हजार रुपैंया भाडा तिरेर सञ्चालन गरिँदै आइएको थियो ।
साउन एक गते वडा अध्यक्ष शेरबहादुर सिजापतिको अध्यक्षतामा बसेको वैठकले वडा कार्यालयलाई पायक पर्ने स्थानमा सार्ने र भाडा बचत गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको पक्षमा अध्यक्ष सिजापति, नैरा कामी र वीरबहादुर कठायतले हस्ताक्षर गरे भने विपक्षमा पदम बडुवाल र लक्ष्मी कुमारी विष्ट बडुवालले हस्ताक्षर गरिन । पाँच सदस्यीय जनप्रतिनिधिमध्ये तीन सदस्यले हस्ताक्षर गरेसँगै बहुमतको निर्णय भनेर साउन तीन गते साँझ वडा कार्यालय मेहलगाउँ स्थित सामूदायिक भवनमा सारिएको थियो ।
उक्त वडा कार्यालय सारिएपछि स्थानीयले रातारात वडा कार्यालय चोरी गरिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा अध्यक्षको चर्को आलोचना गरिरहेका छन भने अस्थायी वडा कार्यालय रहेको क्षेत्रका नागरिकले विभिन्न आठ ओटा टोलमा जाने खानेपानीका लाईन काटिदिएका छन् । यस्तै सिँचाईको पनि लाईन काटिदिएका छन् । पाईपलाईन काटिदिएका कारण हाल दह, लोकाने, मेहेल्गाउँ, छेपाडीलगायत आठ ओटा टोलमा खानेपानीको हाहाकार मच्चिएको स्थानीय छिताराम विश्वकर्माले पहिलोप्रेसलाई बताए ।
आठबीस नगरपालिकामा सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएको पशुपति मावि छेपाडीको खानेपानीकालाईन समेत काटिएको छ भने स्वास्थ्य संस्थाको धारामा पनि पानी आउन बन्द भएको हो ।
‘उहाँहरुले यो ठाउँको खानेपानीको लाईन काटिदिनुभएको छ । यो सरासर मानवअधिकार हनन हो ।’ उनले भने, ‘यदि वडा कार्यालयसँग सम्वन्धित हो भनेपनि कानूनी प्रक्रियामा उहाँहरु जनुपथ्र्यो । यहाँका नागरिकलाई खानेपानी खानबाट बञ्चित गराउनु कदाचित राम्रो होईन ।’
उनका अनुसार वडा नम्बर सात र आठका पाईपलाईन समेत काटिएको छ ।
यता, वडा नम्बर नौ का वडा अध्यक्ष सिजापतिले भने आफूले वडा कार्यालय चोरेर अन्य वडामा नलगेको बताए । ‘मैले वडाकार्यालय चोरेरअन्तै लगेको छैन । वर्षको ६० हजार भाडा तिर्नुभन्दा त्यो बजेटले खानेपानी, अन्य साना योजनालाई सुधार गर्न सकिन्छ भन्ने ध्येयका साथ बहुमतको निर्णयको आधारमा वडा कार्यालय सारेका हौं ।’ अध्यक्ष सिजापतिले भने, ‘बारम्बार नगर कार्यपालिकालाई स्थायी केन्द्र तोकिदिन आग्रह गरेको भएपनि केन्द्र नतोक्दा हामीलाई समस्या सिर्जना भयो । अहिले सारिएको कार्यालयको भाडा तिर्नुपर्दैन भने ७५ प्रतिशत नागरिकका लागि यो कार्यालय पायक परेको छ ।’
नगरपालिकाका नगरप्रमूख तर्कबहादुर बडुवालबाट यसबारेमा प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।
उपप्रमूख कल्पना थापाको मोबाईल भने स्वीच अफ छ ।
यता, जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले वडा कार्यालयको विवाद भएका कारण खानेपानीको पाईप लाईन काटिएको सूचना आएको बताए ।
‘पाईपलाईन काटिएको सूचना आएको छ । वडा कार्यालय सम्वन्धी विवाद नगरपालिकाले हल गर्नुपर्ने व्यवस्था छ । यदि भएन भने हामी समाधानका लागि पहल गर्छौं ।’ प्रजिअ गैह्रेले भने, ‘अहिले पाईपलाई जोडन निर्देशन दिइसकेको छु । फेरि पाईपलाईन काटेको खण्डमा मुद्दा चलाउने गरि कार्यालय अघि बढेको छ ।’
पहिलोप्रेस
६ श्रावण २०८२, मंगलवार १०:४३