कर्णाली सरकारले गर्यो तीन सय बढी कर्मचारीको सरुवा
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत रहेका कर्मचारीलाई संघीयता आइसकेपछि पहिलोपटक सरुवा गरेको छ ।
यसरी सरुवा हुने कर्मचारीहरुको संख्या तीन सय पाँच रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन–२०८१ संशोधित ऐनको अधिकार प्रयोग गर्दै बिहीबार कर्मचारी सरुवा गरेको हो ।
यसअघि ऐनको अभावमा प्रदेश सरकारले स्थानीय तहका कर्मचारीको सरुवा गर्न सकेको थिएन । ऐनमै ‘कर्मचारीको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले गर्न पाउने व्यवस्था अनुसार सरुवा गरिएको हो कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद खरेलले जानकारी दिए ।
सरुवा हुनेमा अधिकांश सहायक स्तरका चौथो र पाँचौं तहका कर्मचारीहरू छन् । सूचीमा प्रशासन सहायक, सब–इन्जिनियर, अनमी, सीअहेब, प्राविधिक सहायक (कृषि÷शिक्षा), र लेखा सहायक जस्ता पदका कर्मचारीको संख्या ठूलो छ । साथै, प्रशासकीय अधिकृत, इन्जिनियर र शाखा अधिकृत जस्ता अधिकृतस्तरका कर्मचारीहरूलाई पनि सरुवा गरिएको छ ।
सरुवा सूची हेर्दा दुर्गम जिल्लाहरू डोल्पा, हुम्ला, मुगु, कालीकोट, जाजरकोटदेखि सुगम मानिने सुर्खेत र सल्यानसम्मका स्थानीय तहहरूमा कार्यरत कर्मचारीहरूलाई एकापसमा सरुवा गरिएको देखिन्छ ।
लामो समयदेखि एउटै स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सरुवा नहुँदा सेवा प्रवाहमा चुस्तता नआएको गुनासो बढिरहेका बेला प्रदेश सरकारले यो कदम चालेको हो । यो सरुवाले दुर्गम क्षेत्रका रिक्त पदहरूमा कर्मचारी पठाउन, अनुभव आदानप्रदान गराउन र सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको प्रदेश सरकारले जनाएको छ ।
हेर्नुहोस विवरण, को कर्मचारी कहाँ सरुवा भए ?
पहिलोप्रेस
१६ श्रावण २०८२, शुक्रबार १४:२९