Loading... आजः ३ कार्तिक २०८२, सोमबार

झलनाथलाई राजीनामा दिन अध्यक्ष नेपालको सुझाव

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता झलनाथ खनाललाई राजीनामा दिन सुझाव दिएका छन् ।

खनालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएका हुन भने पार्टीमा बस्ने नैतिक अधिकारसमेत नरहेको उनको भनाई थियो ।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘आजकाल त एआईको जमाना पनि छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, यदि त्यो बोलेको हो भने उहाँलाई पार्टीबाट बिदा गरिदिनुपर्छ । यो पार्टीमा बस्ने ठाउँ नै रहेन। नैतिक अधिकारै छैन । अहिले खुरुक्क राजीनामा दिनुपर्छ, बिदा भएर जानुपर्छ ।’

यसअघि एक टेलिभिजन कार्यक्रममा बोल्दै नेता खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको र एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए । सोहीबारे प्रश्न गर्दा अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

खनालले पार्टीको संस्थागत निर्णयको बारम्बार उल्लंघन गरेको आरोप लगाउँदै नेपालले थपे, ‘संस्थागत निर्णयको उल्लंघन गर्ने कुरामा नम्बर वान हुनुहुन्छ । उहाँको कुराको कुनै अर्थ छैन ।’


सम्बन्धित समाचार