खेल क्षेत्रलाई व्यवसायिक बनाउँदै अघि बढन जरुरी छः मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यवसायिक बनाउनु आवश्यक रहेको बताएका छन् ।
नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई आज सुर्खेतमा सम्बोधन गर्दै उनले खेलकुद मार्फत युवाहरूलाई आत्मनिर्भर बनाउने वातावरण बनाउनु पर्ने उल्लेख गरे ।
‘खेलले युवालाई सिर्जनशील, अनुशासित, र जिम्मेवार नागरिक बनाउन सहयोग गर्छ ।’ मुख्यमन्त्री कंडेलले भने ।
कार्यक्रमलाई सम्वोधन गर्दै एमाले स्थायी कमिटि सदस्य एवम कर्णाली प्रदेश इन्चार्ज गोरख वोगटीले पार्टी केन्द्रले पठाएको सर्कुलर अनुसार सबै जनसंगठन अघि बढन निर्देशन दिए ।
‘पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीका बारेमा पार्टीले स्पष्ट निर्णय गरिसकेको छ ।’ उनले भने, ‘सो सम्वन्धमा पार्टीले पठाएको अन्तर पार्टी निर्देशन बमोजिम अघि बढनुहोला ।’
उनले सन्निकटमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सबै खेलाडीले राम्रो प्रतिफल ल्याउने गरि अघि बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाई, नेपाल खेलकुद महासंघका उपाध्यक्ष दिपेन्द्र दाहाल, नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशका पदाधिकारी, कर्णालीका दश जिल्लाका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
पहिलोप्रेस
१६ श्रावण २०८२, शुक्रबार १७:०३