कर्णालीको बजेट कार्यान्वयन
सुर्खेत । कर्णाली प्रदेशमा हरेक वर्ष बजेट खर्च कम भइरहेको आरोप प्रदेश सरकारले खेप्दै आइरहेको समयमा मुख्यमन्त्री यामलाल कँडेलले साउनमै मन्त्रीहरुसँग सम्झौता गरेसँगै मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिन थालेका छन् ।
साउन १२ गते कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका मन्त्री घनश्याम भण्डारीले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट कार्यान्वयन गर्न कार्यक्रम कार्यान्वयन दिग्दर्शन जारी गरेसँगै मन्त्रालयले बजेट कार्यान्वयनमा तीव्रता दिएको हो ।
कर्णाली प्रदेशका सबै मन्त्रालय भन्दा नागरिक स्तरसम्म पुग्ने मन्त्रालयसमेत रहेको सामाजिक विकास मन्त्रालयले प्रदेश भरि रहेका दुई सय भन्दा बढी अधुरा आयोजनालाई सम्पन्न गर्न तत्काल सूचि बनाई मन्त्रालयमा पठाउन मातहतका जिल्ला स्थित सामाजिक विकास कार्यालयलाई निर्देशन दिएको हो ।
विगतका वर्षमा यस मन्त्रालयबाट बजेट विनियोजन भई अधुरा रहेका स्वास्थ्य भवन, विद्यालय भवन तथा अन्य संरचनाहरुका लागि बजेट कम भई अलपत्र परेका दुई सय भन्दा बढी योजनाका हकमा मन्त्री भण्डारीले साउन भित्रै बजेट स्वीकृत गराई मंसिर सम्म आयोजना सम्पन्न गर्न दश ओटै जिल्लामा रहेका कार्यालयलाई निर्देशन दिइसकेका छन् ।
‘अहिले अधुरा आयोजना तत्काल सम्पन्न गर्ने, अन्य आयोजनाका लागि सम्झौता गर्ने गरि मन्त्रालय अघि बढिसकेको छ ।’ मन्त्री भण्डारीले भने, ‘सकेसम्म असार कुर्ने प्रचलन अन्त्य गर्ने सरकारको नीति अनुसार असार अगावै बजेट खर्च गर्नेगरि तयारी गर्न मातहतका कार्यालयलाई निार्देशन दिइसकेको छु ।’
पहिलोप्रेस
१७ श्रावण २०८२, शनिबार ११:४१