दैलेखी लाखे नाच सोमबार सुर्खेत झर्दै, यी ठाउँमा प्रस्तुत गरिनेछ नाच
सुर्खेत । दैलेख जिल्लाको परम्परागत लाखे नाच भोली साउन १९ गते सुर्खेत झर्ने भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैलेखी परम्परागत लाखे नाच प्रस्तुत गरिने भएको दैलेखी सेवा समाज, सुर्खेतले जनाएको छ ।
समाजको आयोजनामा साउन १९ र २० गते दुई दिनसम्म ‘परम्परा र कला संस्कृतिको उत्थान—लाखे नाच २०८२’ भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिने भएको हो ।
समाजका अनुसार लाखे नाचको माध्यमबाट मौलिक कला, संस्कृति र परम्पराको जर्गेना गर्दै नयाँ पुस्ताबीच जागरूकता फैलाउने उद्देश्य लिइएको छ । कार्यक्रममा दैलेखका भगवती क्लब, ज्वाला क्लब र एभरेष्ट क्लबका तीन लाखे समूहले नाच प्रस्तुत गर्नेछन् ।
नाचको तालिका
साउन १९ गते (भोली):
दिउँसो २ः०० बजेः कृष्ण मन्दिर, कालिनचोकबाट लाखे नाच सुरु ।
२ः३० बजेः वीरेन्द्रनगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन ।
त्यसपछिः घण्टाघर, लाटीकोइली डाँडा हुँदै साँझ ५ः०० बजे मंगलगढी चोकबाट गणेश चोकसम्म ।
साउन २० गतेः
वीरेन्द्रनगरका विभिन्न बजार, विद्यालय, होटल तथा टोलहरुमा माग अनुसार लाखे नाच देखाइने ।
परम्परागत रूपमा वर्षेनी देखाइने लाखे नाच यसपटक विशेष रूपमा वीरेन्द्रनगरमा प्रदर्शन गरिँदैछ । लाखे नाच हेर्न पाउने अवसरले यहाँका स्थानीयवासी र विद्यार्थीहरूमा पनि सांस्कृतिक चेतना र चासो बढ्ने विश्वास आयोजक दैलेखी सेवा समाजले व्यक्त गरेको छ ।
समाजसेवी शुसिल केसीका अनुसार, ‘वीरेन्द्रनगरमा दैलेखको मौलिक सांस्कृतिक धरोहर प्रस्तुत हुनुले स्थानीयस्तरमा कला–संस्कृतिको आदानप्रदान र सिकाइको अवसर समेत प्रदान गर्नेछ ।’
पहिलोप्रेस
१८ श्रावण २०८२, आईतवार १७:२७