दिगो विकास लक्ष्यमा योगदान पुर्याउन प्रयाप्त अर्गानिक उत्पादनको आवश्यकता छः मन्त्री शाह
सुर्खेत । कर्णाली प्रदेशमा अर्गानिक खेती सम्बन्धि तालिमको आयोजना गरिएको छ। वीरेन्द्रनगर सुर्खेतमा खाद्य तथा कृषि संगठन (एफएओ) सँगको सहकार्यमा काठमौँँस्थित रोयल थाइ दूतावासले आयोजना गरेको हो।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वय रहेको साउन १८ (आइतबार)देखि सुरु भएको तालिम साउन २२ गतेसम्म चल्ने छ। पाँच दिन चल्ने उक्त तालिम २ दिन अधिकृत स्तरका कर्मचारीहरु र बाँकी तीन दिन किसानहरु तालिममा सहभागी हुने आयोजक रोयल थाई दूतावासले जनाएको छ।
तालिमको उद्घाटन सत्रका बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतले आयोजकलाई धन्यवादका साथै रोयल थाई दूतावास काठमाडौँंको कर्णाली आगमनले गौरवान्वित बनाएकाे भन्दै खुसी व्यक्त गरे।
सचिव रावतले यस अवसरले नेपाल र थाइल्याण्डबीचको मित्रता र सहकार्यको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिएका बताए। उनले भने, ‘पछिल्ला सात वर्षदेखि हामीले जैविक कृषि प्रवद्र्धनका लागि अनुदानमा जैविक सामग्री वितरण, प्रयोगशालामा जैविक कीटनाशक उत्पादन, र रासायनिक कीटनाशकका नकारात्मक असरबारे जनचेतना फैलाउने काम गरिरहेका छौं। साथैकृषक पाठशालाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गर्दै आएका छौं।’
यस्तै, सचिव रावतले कर्णाली सरकारले जैविक कृषि प्रवद्र्धनका लागि विशेष ऐन र नियमहरू तयार गरेका बताए। साथै उनले आयोजकहरुको अनुभव र सहयोग कर्णालीका लागि अत्यन्त मूल्यवान् हुने बताए। उनले भने, ‘हामी थाइल्याण्डबाट दीगो कृषि प्रणालीका उत्कृष्ट अभ्यासहरू सिक्न उत्साहित छौं। यो कार्यक्रमप्रति हामी निकै उत्साहित छौं। जसमा हाम्रा किसान, प्राविधिक तथा सरोकारवालाहरूले कर्णालीको विशिष्ट भूगोलअनुकूल उन्नत जैविक प्रविधिहरू सिक्नेछन्।’
यस्तै, तालिमको उद्घाटनमा सत्रमा बोल्दै नेपालका लागि रोयल थाई राजदूत सुवापोङ सिरिसोर्नले सन् २०२५ अप्रिलमा सम्पन्न थाईल्यान्डको औपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री र थाईल्यान्डका प्रधानमन्त्रीबीच दुईपक्षीय बैठक सम्पन्न भएको र जसमा कृषि लगायतका विविध विषयमा छलफल गरिएको बताए। उनले सोही सन्दर्भमा कर्णाली प्रदेशमा अर्गानिक खेती सम्बन्धि तालिमको आयोजना गरिएको बताए।
उनले भने, ‘अर्गानिक खेती सम्बन्धी तालिम थाईल्यान्डको एक पहल हो। जसले ज्ञान आदानप्रदान तथा प्रविधि हस्तान्तरणको माध्यमबाट नेपालको कृषि उत्पादनमा सहयोग पु¥याउने र मूल्य अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।’
उनका अनुसार तालिममा थाइल्यान्डको कृषि तथा सहकारी मन्त्रालयका सात जना विज्ञहरू, थाइल्यान्डको परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (टीआइसिए)का दुईजना प्रतिनिधिहरू साथै कृषि तथा वन विश्वविद्यालयकी डा. होङनाम किरि उपस्थित छन्।
यस्तै, उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले आयोजकको समूहलाई कर्णालीमा स्वागत तथा धन्यवाद दिँदै अर्गानिक कृषि प्रणाली सम्बन्धी यस तालीमले कर्णालीवासीहरूका उपयुक्त र महत्वपूर्ण हुने बताए।
मन्त्री शाहले थाइल्यान्डबाट आफ्नो अमूल्य ज्ञान, सीप र अनुभव बाँड्न कर्णालिमा आएका थाई विज्ञहरूप्रति आभार प्रकट गर्दै कर्णालीको विशेष भौगोलिक बनावट, पहाडी भू–भाग, साना किसानहरू, उच्च र मध्य पहाडी क्षेत्र र जलवायु परिवर्तनको उच्च संवेदनशीलतालाई मध्यनजर राख्दै सरकारले कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्दै दीगो विकासमा योगदान पु¥याउने लक्ष्य लिएका उल्लेख गरे।
साथै उनले कर्णाली प्रदेश जैविक विविधता, आकर्षक पर्यटकीय स्थलहरू, तथा औषधिजन्य वनस्पति र जडिबुटीसहितको प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको बताउँदै कर्णाली र भेरी नदी लगायतका १० जिल्लामा बग्ने नदीहरुले उच्च पहाडी क्षेत्रको कृषि र पशुपालनमा योगदान पु¥याएका दाबी गरे।
उनले भने, ‘रैथाने बाली र अधिकांश किसानहरूले अपनाएको अर्गानिक खेती प्रणालीले अन्तर्राष्ट्रिय बजारमा प्रमाणित जैविक उत्पादनको निर्यात सम्भावनालाई बल पु¥याउछ। यस्ता अवसरहरूको पहिचान गर्दै प्रदेश सरकारले कर्णालीलाई जैविक प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता जनाइसकेको छ। यस दृष्टिकोणलाई व्यवहारमा उतार्न हामीले योजना तथा कार्यक्रमहरू बनाइसकेका छौं।’
यस्तै, मन्त्री शाहले सरकारी, गैर–सरकारी, द्विपक्षीय र बहुपक्षीय साझेदारहरूसँग सहकार्य गर्दै जैविक खेतीमार्फत कृषि विकासमा महत्वपूर्ण प्रगति गरेका बताए।
उनले यस तालिमले सरकारी कर्मचारी र किसानहरूको क्षमता अभिवृद्धि गर्नुका साथै भविष्यमा अझ ठोस सहकार्यको बाटो खोल्ने विश्ववास व्यक्त गरे।
पहिलोप्रेस
१८ श्रावण २०८२, आईतवार १७:३६