संयुक्त सरकारको मर्मअनुसार काँग्रेस नचलेको एमालेको निष्कर्ष

सुर्खेत । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आज बसेको वैठकले केन्द्रको सम्झौता अनुसार नेपाली काँग्रेससँग सत्ता सहकार्य भएको भएपनि कर्णालीमा काँग्रेसले सत्ता सहकार्यको संस्कृति अनुरुप व्यवहार नदेखाएको निष्कर्ष निकालेको छ ।
एमाले संसदीय दलका प्रमूख् सचेतक टेकराज पछाइँले वर्तमान सरकार एकल नभई संयुक्त भएको तर सरकारले ल्याएको कार्यक्रमको विरोधमा सत्ता सहकार्य गर्ने दल काँग्रेस नै लागिपरेको कुरा वैठकमा उठेको बताए ।
‘आजको वैठकमा छैठौं अधिवेशन अन्त्य भएपछिको समिक्षा भएको छ । संयुक्त सरकार सन्चालनको संस्कृति अनुरुप सत्ता सह्कार्य गरिरहेको दलको भुमिका नभएको दलका सदस्यहरुले छलफलको क्रममा आफ्ना धारणा राख्नुभयो ।’ उनले भने, ‘केन्द्रको सहकार्य अनुरुप नै यहाँ पनि काँग्रेस चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
नेपाली काँग्रेसका सांसदहरु आफ्नै दलका अर्थमन्त्री भएपनि बजेटको विरोध गर्ने, दलका नेताले सदन होस या अन्य फोरममा आफ्नै मन्त्रीले गरेको निर्णयको आलोचना गर्ने देखि सरकारको विरोध गर्नेसम्मको कार्य गर्न लागेको एमालेको आरोप छ ।
काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले यसअघि तीन पटक सरकारबाट बाहिरिने धम्की दिएको कुरामा पनि एमालेको चित्त दुखाई छ ।
वैठकले एमाले नेतृत्वको सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्दा ध्यान दिने निर्णय पनि गरेको छ ।
सरकारले आर्थिक अनुशासन कायम गर्दै विभिन्न कार्यविधि, विभिन्न मार्गदर्शन जारी गरिसकेको भन्दै एमाले दलको वैठकले कानूनमा टेकेर बजेट कार्यान्वयन भए नभएको हेर्ने कार्य एमाले सांसदहरुले गर्नुपर्ने धारणा वैठकमा सहभागि सांसदहरुले राखेका छन् ।
कर्णाली प्रदेश सभाको छैठौं अधिवेशन समाप्त भएसँगै सरकारले ल्याएका नयाँ कार्यक्रमहरु, सरकारले गरेका सुशासनका कुरा, विकास निर्माणका कुरा देखि आर्थिक मितव्ययिता कायम गर्न सरकारले गरेको कार्यका बारेमा जनस्तरसम्मै प्रचारप्रसार गर्ने गरि सबै सांसदहरु गाउँ जानुपर्ने निष्कर्ष एमाले दलको वैठकले गरेको हो ।
मुख्यमन्त्री, दलका नेता एवम नेकपा एमालेका स्थायी कमिटि सदस्य यामलाल कँडेलको अध्यक्षतामा आज विहान बसेको वैठकले सरकारले कानूनीराज कायम गर्न अधिकतम प्रयास गरेको र प्रदेश सरकारलाई सहि मार्गमा हिडने गोरेटो कोर्न सफल भएको निष्कर्ष समेत निकालेको छ ।
एमाले संसदीय दलका प्रमूख सचेतक टेकराज पछाईका अनुसार वैठकले सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि ल्याएको वजेटबारे जनताको प्रतिक्रिया लिन गाउँ जान थालिएको बताए ।
‘हाम्रो नेतृत्वको सरकारले ल्याएको बजेटमाथि आम जनताको क्रिया प्रतिक्रिया के छ जान्नका लागि हामी गाउँ जाँदैछौँ ।’ उनले भने, ‘त्यसका अलावा जनताका अपेक्षा कस्ता छन भन्ने कुरा पनि सुन्न र सरकारले गरेका राम्रा कामहरु सुनाउन हामी गाउँ जाँदैछौं ।’ वैठकमा सरकारको संगठन पुर्नसंरचनाका सम्वन्धमा छलफल भएको उनको भनाई छ ।
पहिलोप्रेस
२२ श्रावण २०८२, बिहीबार १२:१८