Loading... आजः २ कार्तिक २०८२, आईतवार

भदौ मसान्तभित्र बोलपत्र आव्हान गर्न मुख्यमन्त्री कंडेलको निर्देशन

अवण्डा रकम भदौ मसान्तभित्र मन्त्रालयले बाँडिसक्नुपर्ने


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले भदौ मसान्तभित्र बोलपत्र आव्हान गरि आयोजना निर्माण सुरु गर्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका रु. एक करोड भन्दा माथिका आयोजना र अन्य मन्त्रालयका रु पचास लाख भन्दा माथिका आयोजनाको भाद्र मसान्तभित्र बोलपत्रको सूचना आव्हान गर्न मुख्यमन्त्री कंडेलले लिखित निर्देशन दिएका हुन ।

‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट कार्यान्वयन गर्दा बहुवर्षीय र स्रोत सुनिश्चितता गर्नुपर्ने आयोजना भए साउन मसान्तभित्र त्यस्ता आयोजनाको विवरण कर्णाली प्रदेश योजना आयोगमा पठाउन निर्देशन दिएका छौँ ।’ मुख्यमन्त्री कंडेलले दिएको निर्देशनमा उल्लेख गरिएको छ, ‘विगतमा ठेक्का भई हाल कार्यान्वयनमा रहेका आयोजनाको कार्यारम्भ साउनबाट नै गर्ने गरी कार्यान्वयनमा लैजाने र योजना छनोट तथा प्रस्ताव सम्बन्धी कार्यविधि र आयोजना वैड्ङ्क सम्बन्धी कार्यविधि परिस्कृत रूपमा परिमार्जनका लागि साउन मसान्तभित्र कर्णाली प्रदेश योजना आयोगले तयार गर्ने ।’

मुख्यमन्त्री कंडेलले दिएको निर्देशनमा समपूरक, विशेष र सशर्त अनुदान सम्बन्धी विद्यमान कानूनी व्यवस्थामा परिमार्जनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले साउन मसान्तभित्र मस्यौदा तर्जुमा गर्ने र स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि भाद्र मसान्तभित्र तर्जुमा गरी कार्यान्वयन प्रकृया अघि बढाउने उल्लेख गरिएको छ ।

मुख्यमन्त्री कंडेलले मन्त्रालयले रकम बाँडफाँट नगरी अवण्डामा बजेट राख्न नहुने कानूनी व्यवस्था एवम् नियमनकारी निकायको निर्देशन समेतलाई ध्यानमा राखी कुनै मन्त्रालयमा अवण्डामा रकम रहेको भए भाद्र मसान्तसम्म आवश्यक प्रकृया पूरा गरी कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।


सम्बन्धित समाचार