Loading... आजः २ कार्तिक २०८२, आईतवार

अब अर्को सरकारले कार्यविधि पारीत गर्छ भन्दै पुर्व मुख्यमन्त्री शाहीसहित काङ्ग्रेस सांसद हिँडेपछि….

सत्तारुढ दलभित्रको खटपट छरपस्ट, सिद्धार्थको कार्यक्रम विथोलियो


शेरबहादुर थापा, सुर्खेत । समपुरक अनुदान, विशेष अनुदान र शसर्त अनुदान वितरण सम्वन्धी कार्यविधि निर्माणका लागि आज आयोजना गरिएको कार्यक्रम स्थगित भएको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रमको औचित्य माथि नै पूर्व मुख्यमन्त्री एवम नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रश्न उठाएर बहिष्कार गरेर हिँडेपछि कार्यक्रम स्थगित गर्नुपरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोत बताउँछ ।
आज आयोजना गरिएको कार्यक्रम १९ गतेलाई गरिने मिति तय भएको थियो ।

१९ गते आयोजना गरिएको कार्यक्रम २२ गतेलाई मुख्यमन्त्री यामलाल कंडेलसँगको सहमतिमा २२ गतेलाई सारिएको भएपनि पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला जाने कार्यक्रम भएको भन्दै २३ गते विहानलाई उक्त कार्यक्रम सारिएको थियो ।
सोही अनुसार आज उक्त कार्यक्रममा सत्तारुढ दल, प्रमूख प्रतिपक्षी दलसहितका सांसदहरुको सहभागिता भएको थियो । विहान साढे सात बजे सिद्धार्थ होटलमा नास्ता खाने र आठ बजे हलमा छिर्ने कार्यक्रम तय भएको थियो ।

होटल स्रोतका अनुसार १३५ जनाले विहान नास्ता खाएका थिए भने १५० जनाकालागि खानाको अर्डरसमेत भइसकेको थियो ।

नास्ता खाएर सबै सांसदहरु ऋाफ्नो नाम लेखिएको स्थानमा गएर बसे । मुख्यमन्त्री, सभामुख, काँग्रेस संसदीय दलका नेता, प्रमूख प्रतिपक्षी दलका नेता, उपसभामुख, दलका सचेतकहरु सबैकालागि अलग्गै बस्ने व्यवस्था मिलाइएको थियो तर कार्यक्रम सुरु हुनु पुर्व नै पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले अस्वाभाविक व्यवहार देखाउन थाले ।

‘उहाँ आउनुभयो । उहाँले सुरुमा आफ्ना मन्त्रीलाई बोलाएर केहि निर्देशन दिनुभयो ।’ मन्त्रालय स्रोत भन्छ, ‘त्यसपछि कार्यक्रम सुरु गर्ने समयमा नेता शाहीले आफ्नो नाम विशेष अतिथिको रुपमा नराखेको भन्दै एमाले प्रमूख सचेतक टेकराज पछाई बसेकै टेवुलमा नेमप्लेट उठाउदै साथमै लिएर बस्नुभयो ।’

स्रोतका अनुसार कार्यक्रममा राष्ट्रिय गान, मौनधारण कार्यक्रम र उदघाटन सत्र समेत सम्पन्न भयो ।

तर, त्यहि विचमा पूर्व मुख्यमन्त्री शाहीले आफु ठूलो दलको नेता भएको भएपनि आयोजकले अपमान गरेको बताए । त्यति मात्रै होईन, पूर्व मुख्यमन्त्री शाहीले अब एक हजारका योजनाको समेत टेण्डर आव्हान गर्नुपर्यो यो सरकारले भनेर भन्न थाले ।

कार्यक्रमको प्रस्तुतिकरण प्रस्तुत गर्न मन्त्रालयका सचिव रविलाल शर्मा अघि बढे । उनी अघि बढदा पूर्व मुख्यमन्त्री शाहीले प्रश्न गरे, ‘यो कहिलेका लागि कार्यविधि बनाईदैछ ?’ सचिव शर्माले जवाफ दिए, ‘आर्थिक वर्ष २०८३÷०८४ का लागि हो माननीय ज्यू ?’
सचिव शर्माको यो जवाफ सुनेपछि पूर्व मुख्यमन्त्री शाहीले भने, ‘त्यसो भए यो कार्यक्रम अहिले आवश्यक छैन । अब अर्को सरकार आउँछ, अर्को मन्त्री आउँछ, उसैले बनाउँछ ।’

त्यसपछि उनि त्यहाँबाट निस्किए । उनिसँगै काँग्रेसबाट सरकारमा सहभागि चार ओटा मन्त्री मध्ये आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह र सामाजिक विकास मन्त्री घनश्याम भण्डारी वाहेक सबै सांसद निस्किए ।

भद्र रुपमा बसिरहेका माओवादी सांसद विन्दमान विष्टले कार्यक्रम स्थगित भएसँगै प्रश्न गरे, ‘अब आगामी दिनमा हुने कार्यक्रममा माओवादीलाई बोलाउँदा दुवै नेताले संयुक्त रुपमा पत्र पठाउनु, एक्ला एक्लै नपठाउनु ।’

यस विषयमा कुरा गर्न खोज्दा पूर्व मुख्यमन्त्री शाहीको फोन उठेन भने, एमाले प्रमूख सचेतक टेकराज पछाईले कार्यक्रममा विवाद भएको स्वीकारे ।

किन भइरहेको छ सत्तारुढ भित्र खटपट ?
नेपाली काँग्रेस र एमालेबीचमा गठबन्धन बन्दा पूर्व मुख्यमन्त्री शाही निलम्वित थिए । उनि निलम्वित भएका कारण यहाँ एमाले नेतृत्वमा नै सरकारमा सहभागि हुने अवस्था आयो । एमाले र माओवादी बीच आधा–आधा कार्यकाल मुख्यमन्त्री हुने भनेर लिखित सहमति भएको भएपनि एमाले–काँग्रेसबीच लिखित सहमति भएको छैन ।

लिखित सहमति नभएका कारण काँग्रेस जहिल्यै सरकारबाट बाहिरिने भन्दै एमालेलाई ‘धम्की’ दिने गरेको कुरा एमाले सांसदहरु नै बताउने गरका छन् ।

‘एमालेको विहीबार बसेको संसदीय दलको वैठकले काँग्रेसले संयुक्त सरकार सञ्चालनको मूल मर्म, धर्म र परम्परा अनुसारको भूमिका निकाल्न नसकेको भन्ने निष्कर्ष निकालेको थियो ।’ एमालेका एक सांसदले भने, ‘सायद त्यहि कुराले काँग्रेसलाई असर परेको हुनसक्छ । त्यहि भएर उहाँले आज यस्तो गर्नुभएको होला ।’

यता, केहि दिन अघि पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला पुगेर अबको केहि समयमै मुख्यमन्त्री आफै बन्ने र हुम्लाको विकास गर्ने भनेर भाषण गरेको भिडिओ सामाजिक सञ्जालमा भाईरल भइरहेको छ ।

यति मात्रै होईन, विहानको कार्यक्रममा एक हजार बजेट भएको भएपनि टेण्डर गर्न सरकारलाई दिनुपर्ने भनेर पूर्व मुख्यमन्त्री शाहीले बोलेको कुरामा पनि अर्थ छ । त्यो अर्थ भनेको ठूला योजनाको भदौ मसान्तभित्रै टेण्डर आव्हान गरिसक्न मुख्यमन्त्री कँडेलले दिएको निर्देशन एक कारण हो ।

‘यामलाल नेतृत्वमा रहँदा नै सबै काम गरिसकेपछि आफू मुख्यमन्त्री हुँदा के गर्ने भन्ने प्रश्न उहाँको मनमा लागिरहेको भान हुन्छ ।’ काँग्रेसका एक सांसद भन्छन, ‘त्यसैले पनि जीवन दाईले आजको यो कार्यक्रममा विवाद भएको जस्तो देखाउनु भएको होला ।’

नेपाली काँग्रेस छिटो भन्दा छिटो अर्थात भदौ भित्र सरकारको नेतृत्व लिन खोजिरहेको छ भने एमालेले केन्द्रको सहमति अनुसार आफू चल्ने बताइरहेको छ ।

आर्थिक योजना मन्त्री नेपाली काङ्ग्रेस कै शाह छन । यसबारेमा प्रतिक्रिया लिन खोज्दा नेता शाहीको फोन उठेन ।


सम्बन्धित समाचार