Loading... आजः १ कार्तिक २०८२, शनिबार

मुख्यमन्त्री कडेलले लगाए होटलमा कार्यक्रम गर्न रोक, सरकारकाे कम्तीमा एक कार्यक्रमबाट मात्रै पाँच लाख जोगिने


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले बुधबार साँझ कर्णाली प्रदेश सरकार मातहतका कर्मचारीलाई तारे होटलमा कार्यक्रम आयोजना गरेर फजुल खर्च नबढाउन कडा निर्देशन दिएका छन् ।

कर्णाली प्रदेश सरकारले आज शुक्रबार कर्णाली प्रदेश सरकारको वार्षिक समिक्षा गर्ने कार्यक्रम तय भएको थियो । यो कार्यक्रमलाई सिद्धार्थ होटलमा गर्ने तयारी मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कर्मचारीहरुले गरेपनि मुख्यमन्त्री कंडेलले तारे होटलमा कार्यक्रम गरेर अनावश्यक खर्च नबढाउन र प्रदेश सरकारसँग रहेका हलहरुमा नै कार्यक्रम आयोजना गर्न निर्देशन दिएपछि कर्मचारीहरु तारे होटलमा आयोजना गर्ने समिक्षा कार्यक्रमबाट ‘व्याक’ भएका हुन ।

त्यसपछि कर्मचारीले हिजो विहीबार सरकार मातहतका मन्त्रालय तथा निर्देशनालय अन्र्तगतका हलहरुको निरिक्षण गरि समिक्षा कार्यक्रम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि तथा पशुपन्छी प्रर्वद्धन तालिम केन्द्रमा गर्ने निर्णय गरेका हुन ।

आज आयोजना हुने कार्यक्रममा प्रदेश सरकार मातहत रहेका १३१ ओटा कार्यालयका कार्यालय प्रमूख, प्रदेश सरकारका मन्त्री, सचिवलगायत १७५ जना भन्दा बढी सहभागि हुनेछन् ।

यस्तै, तारे होटलमा कार्यक्रम रोक्दा प्रदेश सरकारले कम्तिमा पनि पाँच लाख रुपैंया जोगाएको छ ।

‘मुख्यमन्त्री ज्यूको निर्देशनपछि हामीले विभिन्न विकल्पका बारेमा खोजी गर्यौँ । जिल्ला समन्वय समितिको हल पहिल्यै बुक भइसकेका कारण त्यहाँ कार्यक्रम नहुने भयो । त्यसपछि सिटीहलका बारेमा कुरा गर्न खोज्दा त्यहाँ व्यवस्थित नभएको भन्ने कुरा आयो ।’ मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी कृष्ण खरेलले भने, ‘त्यसपछि तालिम केन्द्रमा सहभागि अट्ने देखिएपछि कार्यक्रम त्यहिँ गर्ने भएका हाैँ।’

उनले सरकारी हलमा कार्यक्रम गर्दा र तारे होटलमा गर्दा कार्यक्रमको खर्चमा आकाश पातालको फरक हुने बताए ।

‘यहि कार्यक्रम सिद्धार्थ होटलमा आयोजना गरेको खण्डमा एक सय रुपैंया खर्च लाग्थ्यो भने यहाँ गर्दा बढीमा तीस रुपैंँया खर्च हुने हाम्रो अनुमान छ ।’ उनले भने, ‘केहि नभएपनि प्रदेश सरकारको पाँच लाख रुपैँया यहि कार्यक्रममा जोगियो भनेर भन्नुस न ।’

मुख्यमन्त्री कंडेलले अबदेखि दुई सय पचास जना भन्दा बढी सहभागि हुने भएको खण्डमा बाहेक होटलमा कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको बताए ।

‘उहाँले प्रदेश सरकारका सबै कार्यक्रम अब हलमै गर्न निर्देशन दिनु भएको छ ।’ उनी भन्छन, ‘कुै कुनै कार्यक्रमहरु, जस्तो साढे दुई सय सहभागि हुने जस्तो देखिएको खण्डमा विकल्प खोज्न भन्नु भएको छ । त्यो बाहे्क अब सबै कार्यक्रमहरु सरकारी कार्यालयकै हलमा गर्ने निर्देश भएको हो ।’


सम्बन्धित समाचार