Loading... आजः १ कार्तिक २०८२, शनिबार

कुवेतको विषाक्त मदिरा: ९ नेपालीको पीडादायी अन्त्य


काठमाडौँ । मदिरा निषेधित देश कुवेतमा विषाक्त मदिरा सेवनका कारण नेपालका ९ जनाको मृत्यू भएको छ । विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भएको छ भने करिब १६० जना बिरामी भएका छन् ।

नौ जना वाहेक अरू मृतक पनि अधिकांश एसियाली नागरिक रहेको अरब टाइम्सले जनाएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार ३१ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको छ भने ५१ जनाले आकस्मिक मिर्गौला डायलाइसिस गराएका छन्। २१ जनामा स्थायी अन्धोपन वा दृष्टिदोष देखिएको छ ।

मन्त्रालयले सबै केसहरूको २४ घण्टा निगरानी र आवश्यक उपचारको व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले शुक्रबार जानकारी दिएअनुसार तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ । उनका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

यसबारेमा कुवेत सरकारले दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको बताउँदै उनले विस्तृत विवरण लिने क्रममा रहेको बताए ।
उनका अनुसार कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो संख्यामा नेपाली प्रभावित भएका हुन् ।


सम्बन्धित समाचार